काठमाण्डौ । आफू वरिपरिको वातावरण र संस्कारले हरेक मानिसको जीवनमा प्रभाव पारिरहेको हुन्छ । अझ परिवारका सबै सदस्य शिक्षित भएको अवस्थामा पढ्न अल्छी मान्नेहरुले पनि कुनै कालमा पुगेर पढाईको महत्व अनुभूत गर्छन् र आफूलाई खारेर अगाडि बढाउन कुनै कसर बाँकी राख्दैनन् । बैंकर तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका डेपुटी सीइओ बन्दना पाठकको जीवनमा समेत यही नियम लागू भयो । 

पाठक, काठमाण्डौमै हुर्किन । मध्यम वर्गीय, तर पढेलेखेको परिवारकी एक्ली छोरी पाठकको बाल्यकालमा पढाई खासै तेजिलो थिएन । स्कूल लेभलको पढाईसम्म उनी पास हुनु नै उनका अभिभावकका लागि ठूलो कुरा थियो । उनमा पनि पढाईप्रति खासै ठूलो चासो थिएन । 

सेन्ट जेभियर्समा ९ कक्षासम्म पढी पद्मकन्या स्कूलबाट एसएलसी दिएकी उनी द्वितीय श्रेणीमा उत्तीर्ण हुँदा घरका सबै सदस्य खुशीले गदगद भए । 

पाठकको पढाई आइएमा समेत औसत मात्र थियो । स्नातकमा पनि खासै परिवर्तन भएन । तर, जब उनी स्नातकोत्तर लेभलमा पुगिन, तब नपढी केही नहुने रहेछ, केही गर्नका लागि पनि पढ्नैपर्ने रहेछ भन्ने अनुभूत भयो । यो अनुभूत यति बलियोसँग आएको थियो कि त्यसपछि उनले पढाईमै अर्जुनदृष्टि लगाइन् र स्नातकसम्म पनि खासै राम्रो क्वालिटी आउन नसकेको पढाईलाई उनले एकाएक उचाईमा पुर्याइन् । पढेरै केही गर्नुपर्छ भन्ने हुटहुटीकै कारण उनी अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर डिग्री हासिल गर्न सफल भइँन ।

विवाहकै दिन  एसएलसी रिजल्ट !
बन्दना पाठक १५ वर्षको हुँदा देशमा भएका केही महिला हिंसाका घटनाले त्रासको अवस्था सिर्जना गरेको थियो । सो बेला हुर्के बढेका छोरीहरुलाई जोगाउनका लागि समेत काठमाण्डौका अभिभावकहरुले छोरीहरुको कम उमेरमै विवाह गरिदिने लहर चलेको थियो । यही चपेटामा पाठक पनि परिन् । १५ वर्षमै उनको काठमाण्डौका रैथाने परिवारका एक्ला छोरासँग विवाह भयो । 

उनको विवाहकै दिन एसएलसीको रिजल्ट आएको थियो । त्यो रमाइलो संयोग उनलाई अझै पनि याद आइरहन्छ । 

आद्यात्ममा विश्वास गर्ने, भजनकिर्तन गरिरहने, रथयात्रा गर्ने, धर्मकर्मका लागि बनारस, इलाहावाद गइरहने परिवारमा हुर्किएका कारण पाठक पनि सानै उमेरमै संस्कारी थिइन् । संस्कारी भएकै कारण उनले विवाहपछिको भूमिका पनि राम्रोसँग निर्वाह गरिन् । तर, उनकी आमा छोरीले घर गरिखाएको कुरामा मात्र चित्त बुझाउने अवस्थामा थिइनन्, छोरीले पढ्नुपर्छ भन्ने सपना बाँकी नै थियो । 

विवाहको २ वर्षमै छोरा जन्मिएपछि तत्काल पढाईलाई अगाडि बढाउने अवस्था भएन । पढ्न भनेपछि त्यसै पनि मन नलाग्ने उनले विवाहपछि नै आफ्ना पतिलाई ‘अब आफू पढ्दिँन’ भन्ने कुरा कन्भिन्स गरेकी थिइन । तर, यो कुरा उनकी आमालाई अस्वीकार्य थियो । ‘ज्वाईलाई फोन गरेरै मामीले त छोरीलाई मास्टर डिग्री पढाइसकेपछि मात्र पठाइदिन्छु भन्नुभएछ ।’ पढाईका लागि आफ्नी आमाले गरेको जोड र दिएको साथलाई सम्झँदै पाठक भन्छिन्–‘त्यसपछि मैले पढ्नैपर्ने भयो । मेरो मामीले त्यति गर्नुभएको थिएन भने म आजको अवस्थामा आइपुग्ने थिइँन होला ।’ 

उनका पिताले १९६५ मै अमेरिकामा फूल स्कलरसीप पाएर पढेका थिए । पिता अमेरिकाबाट कृषि वैज्ञानिक भएर फर्किएपछि बन्दना, उनका दाई र भाईको अंग्रेजीमा पनि व्यापक सुधार भयो । ‘पापाले हरेक दिन हामीलाई एउटा अंग्रेजी शब्दा र त्यसको मिनिङ याद गर्न दिनुहुन्थ्यो।’ अमेरिकी संस्कार अनुसारका धेरै वाक्य तथा शब्दहरु त्यसबेलै सिक्ने अवसर पाएको उनले सुनाइन । 

बुबा तथा आमाको त्यो सिकाई र गाइडेन्सकै कारण अहिले बन्दना वाणिज्य बैंकको टप लेभलमा पुगेकी छिन् भने उनका दाई एशियाली विकास बैंकमा तथा भाई पनि अमेरिकाकै राम्रो कम्पनीको टप लेभलमा जागिर खाइरहेका छन् । 

पछिल्लो समय उनका छोरा समेत उनका लागि प्रेरणाको स्रोत बनेका छन् । पाठकका छोराबुहारी नै हाल अमेरिकामा बसिरहेका छन् । उनका छोरा अमेरिकामा आफ्नै ग्यास स्टेशन संचालन गरिरहेका छन् भने एक राम्रो होटलमा जनरल म्यानेजरको रुपमा पनि कार्यरत छन् । उनले आफ्ना छोरालाई आफ्ना लागि राम्रो सल्लाहकार समेत मान्छिन्। 

पैसासँगको चिनजान
पाठक हुनेखाने परिवारकै एक्ली छोरी थिइँन । जसले जीवनभर पैसा अभावको समस्या कहिल्यै भोग्नु परेन । सानो छँदा पनि उनकी हजुरआमाले उनलाई पैसा दिइरहन्थिन । ‘हजूरआमाको पैसा राख्ने बाकस हुन्थ्यो, हाम्रो घरमा आउने जोकोहीलाई उहाँ खालि हात पठाउनु हुँदैन थियो ।’ पुलकित हुँदै पाठक भन्छिन्–‘मलाई पनि पैसा दिइरहनुहुन्थ्यो, हजूरआमाले धेरै माया गरी पैसा दिएको देखेर मेरो मामीले पछि कस्तो घरमा पर्छे, धेरै पैसा दिएर केटाकेटी बिगार्नुहुँदैन भन्नुहुन्थ्यो ।’ 

एक हिसाबले भन्दा सानैदेखि उनमा पैसा खेलाउने बानी नै लाग्यो । ‘सायद जीवनमा आफैं कमाउन लेखेको रहेछ क्यार, विवाहपछि मेरो श्रीमानसँग पैसा माग्नै अप्ठ्यारो लाग्थ्यो ।’ तर, जागिर खानुअघिसम्म उनलाई उनकी आमा, बुबा र पतिले पकेट खर्च दिन्थे । उनमा पैसा अभावको हालसम्म कुनै अनुभूति नै छैन । ‘तर त्यसको अर्थ एकदमै धेरै खर्च गर्ने बानी थियो भन्ने पनि होइन ।’ बन्दनाले भनिन्–‘मेरा मामी र पापाले मितव्ययी बन्नुपर्छ भन्ने संस्कार पनि सिकाउनु भएको थियो।’ 

बैंकसम्मको यात्रा
पाठकले स्नातकोत्तर पढुञ्जेलसम्म पनि बैंकिङ सेक्टरमा जाने कुनै सोंच बनाएकी थिइनन् । स्नातकोत्तरको प्रथम वर्ष पढ्दै गर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकले कान्तिपथमा शाखा खोल्नका लागि केही कर्मचारी मागेको थियो । साथीभाईले भनेपछि उनले पनि त्यहाँ जागिरका लागि प्रयास गरिन् । सयौं प्रतिस्पर्धीलाई उछिन्दै उनले नाम पनि निकालिन् । तर, उनले पक्का भइसकेको जागिर समेत छाडिन्, जानै मन लागेन । सन् १९९२ मा स्ट्याण्डर्ड चार्टर्डमा निश्चित भइसकेको जागिर छाडेकी उनले सन् १९९४ मा भने नेपाल बंगलादेश बैंकबाट बैंकिङ करिअरको सुरुवात गरिन् । 

अध्ययनकै क्रममा उनले ग्यालेक्सी स्कूलमा ६ महिना जति र ‘न्यू एरा’ नामको एउटा एनजीओमा ४ महिना जति काम गरिन् । 

नेपाल बंगलादेश बैंकमा करिब १० वर्ष काम गरिसकेपछि उनी हालको एनसीसी बैंकमा ज्वाइन भइन । दुवै बैंकमा गरी उनको बैंकिङ करिअर २५ वर्ष बढी भइसकेको छ । 

उनका पति राजनीतिज्ञ हुन् । तर, पाठकलाई कहिल्यै पनि आफ्नो फिल्डमा आउन दवाब दिएनन् । आमाबुबाले पनि जुन फिल्डमा गए पनि राम्रो गर्नुपर्छ भन्ने शिक्षा दिएका थिए, यी सबै प्रिय हातहरुको साथ र सहयोगले आफू बैंकिङ क्षेत्रमा आएर डेपुटी सीइओको पदसम्म आइपुगेको पाठक बताउँछिन् । उनले आफ्ना मातापिता, सासू र पतिको मुख्य सहयोगका कारण आफू सफल भएको समेत बताइन् । 

अहिले छोरीको प्रगति देखेर उनका बुबाआमा मख्ख छन् । ‘म जहाँ पुगेँ, उहाँहरु धेरै खुशी हुनुहुन्छ ।’ पाठक भन्छिन्–‘मामी मेरो अगाडि मेरो तारिफ गर्नुहुन्न, तर मेरो पापा त अहिले मेरो प्रशंसा गर्दै र मप्रति गर्व गर्दै हिँड्नुहुन्छ । मातापिताको अनुहारमा आफ्ना कारण देखिएको खुशीले आफूलाई पनि आनन्दित बनाउँदो रहेछ ।’ 

करिअरका तीतामीठा क्षण
बैंकिङ करिअरमा उनले राम्रा र नराम्रा दुवै खालका क्षणहरुसँग साक्षात्कार गरेकी छिन् । तर यो क्रममा उनले सिकेको पाठ हो–तपाईले यदि काममा कम्प्रोमाइज गर्नुभएको छैन भने कसैले केही गर्न सक्दैन । अप्स एण्ड डाउन आउन सक्ला, तर एकदिन तपाईको भ्यालू आउँछ–आउँछ । 

अबको लक्ष्य के त ? हाम्रो प्रश्नमा सालीन जवाफ आयो–‘मैले जे गरिरहेको छु, त्यसैलाई अझ राम्रो गर्न सकूँ । म जहाँ छु आज, धेरै खुशी छु । मैले फलोअर्स होइन कि लिडर उत्पादन गर्न सकूँ ।’

उनले बैंकमै काम गर्ने महिला कर्मचारीहरुलाई पनि प्रेरणा दिइरहेकी हुन्छिन् । बच्चाका कारण वा घरायसी समस्याका कारण जागिर छाड्न खोज्ने महिला कर्मचारीलाई समेत उनी सम्झाईबुझाई  गर्छिन् । 

एउटा अधूरो सपना
स्नातकोत्तर गरिसकेपछि पाठकमा पिएचडी गर्ने निकै ठूलो सपना थियो । तर, सबै सपना पूरा नहुने रहेछन् । उनी पिएचडी गर्न छाडेर बैंकिङ क्षेत्रमै रमाइन् । समयले नेटो काट्यो । समय त अझै छ नि त पिएचडी गर्ने ? हाम्रो प्रश्नमा उनी भन्छिन्–‘हिजो पिएचडी गर्ने ठूलै इच्छा थियो, तर अब छैन । अहिले इन्ट्रेस्ट नै भएन । बैंकिङमै अझै बढी योगदान गर्ने योजनामा केन्द्रीत भएको छ मेरो ध्यान ।’ 

नेपालमा बैंकिको भविष्य 
देशको बैंकिङ उद्योगमा निकै ठूलो परिवर्तन आएको एक बलियो साक्षी पनि हुन् बन्दना । २५ वर्षअगाडिको बैंकिङ र अहिलेको बैंकिङमा धेरै कुरा परिवर्तन भइसकेका उनी बताउँछिन् । ‘पहिला क्लाइन्टहरु नै बैंकमा आएर बस्नुपर्ने अवस्था थियो ।’ उनले भनिन्–‘तर अब जमाना अर्कै छ, टफ कम्पिटिसन छ, अब बैंकहरु नै क्लाइन्टसम्म पुग्नुपर्ने अवस्था छ ।’

पहिलो जनआन्दोलनको साक्षी समेत रहेकी पाठकले त्यसपछि देशको अर्थतन्त्र बुम भएको र त्यसबेलाको बैंकिङ क्षेत्र समेत निकै लोभलाग्दो बनेको स्मरण समेत गरिन् । तर त्यसपछि अर्थतन्त्र जुन अनुपातमा बढ्नुपर्ने थियो, त्यो अनुपातमा बढ्न नसकेको उनको विश्लेषण छ । 

‘यहीकारण बैंकहरुबीचको प्रतिस्पर्धा अस्वस्थ भयो कि ?’ उनले थपिन–‘तर बैंकहरु धेरै हुँदा राम्रो पनि भएको छ । धेरैले रोजगारी पाएका छन् । ४० प्रतिशतसम्म ब्याजमा ऋण लिन बाध्य कुनाकन्दराका जनतासम्म बैंक पुगेका छन्, तिनीहरुलाई राहात पुगेको छ । बैंकहरुले उद्यमीहरु जन्माएका छन्, रोजगारीको सिर्जना गरेका छन् ।’ 

उनले बैंकका कर्मचारीहरुको महत्वकांक्षामा अस्वभाविक वृद्धि भइरहेको उल्लेख गर्दै भनिन्–‘आज जुनियर अफिसर लेभल भएको कर्मचारी ६ महिनापछि नै सिनियर अफिसर लेभलमा पुग्न चाहिरहेको छ । यो प्रवृतिले समग्र उद्योगमै ब्याकफायर हुने अवस्था देख्छु ।’ 

केही कडा नियमकानुन बनिरहेका र ‘बिग मर्जर’को कुरा पनि आइरहेको उल्लेख गर्दै उनले बलिया र राम्रा बैंक देशको आवश्यकता रहेको औंल्याइन् । ‘बैंकिङ उद्योगकै समग्र भविष्य सुन्दर देखेको छु ।’ उनले भनिन्–‘यो क्षेत्रको जागिर आकर्षक छ । राम्रो गर्नेका लागि अझै पनि बग्रेल्ती अवसर छ, तर दुःख चाहि गर्न सक्नुपर्छ ।’ 

‘तिजको ब्रत बस्छु, तर भोकै होइन’
बैंकर बन्दना पाठकलाई तिज आउनेबित्तिकै आफू सानो छँदा माइतीमा सबै आफन्त भेला भएर पूजा गरेको, ५० जना भन्दा बढी भेला भई बत्ती बालेको दृश्य याद आउँछ । उनले तिजको ब्रत विवाहअगाडि बसिनन् । विवाह भएको पहिलो वर्ष ब्रत बसिन्, पानी पनि नपिई । ‘सो बेला निराहर नै बसेँ, पानी खाए पाप लाग्छ भन्थे, त्यो वातावरण थियो ।’ विगत सम्झिँदै उनले भनिन्–‘अहिले पनि ब्रत त बस्छु, तर भोकै बस्ँिदन । पानी, सर्वत, दूध पिउँछु।’ 
‘हेल्दी फास्टिङ’को पक्षमा रहेकी पाठक तिज व्रतको नाममा भोकै बस्न नहुने सुझाव दिन्छिन् । 

उनले व्यस्तताको बाबजुद तिजको अवसरमा हरेक वर्ष २ दिन माइतीघरमै बिताउने गरेकी छिन् । ‘मेरा बुबाआमा कुरेर बस्नुहुन्छ । तिजमा दुईरात जहिल्यै माइत गएर बस्छु, आनन्द आउँछ ।’ उनले भनिन्–‘अहिलेसम्म तिजमा माइत नगएको वा नबसेको कुनै वर्ष छैन।’ 

उनले पछिल्लो समय तिजको दर खाने नाममा विकृति भित्रिएकोमा असन्तुष्टि समेत व्यक्त गरिन् । तिज आउनु भन्दा एकमहिनाअघिदेखि नै दर खाने विकृति बढेको र तिजको नाममा लुगा र गहनाको भद्धा प्रदर्शन समग्र अर्थतन्त्रकै लागि समेत ठीक नभएको उनको विश्लेषण छ ।