काठमाडौँ । नेपाल राष्ट्र बैंकको कार्यालय थापाथली परिसरमा नयाँ सुविधा सम्पन्न भवन निर्माण शुरु गरिएको छ ।
विसं २०७२ वैशाखमा गएको गोरखा भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो । थापाथलीस्थित सो कार्यालयको ४२ रोपनी तीन आना दुई पैसा जग्गा रहेको छ । सो जग्गामा रु एक अर्ब ८७ करोडको लागतमा ६ तले भवन बन्नेछ ।
उक्त भवन ३० महिनाभित्र निर्माण सम्पन्न हुनेछ । भवनको आज एक कार्यक्रमबीच शिलान्यास गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पुरानै संरचनामा अत्याधुनिक भवन बन्ने बताउनुभयो ।
विभिन्न बाधा अवरोधकाबीच भवन निर्माणले गति लिएकोमा खुशी व्यक्त गर्दै उहाँले सम्झौताअनुसार समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “सबै मापदण्ड पूरा गरी भवनको शिलान्यास गरिएको छ, जतिसक्दो चाँडो निर्माण सम्पन्न हुनुपर्छ ।” राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले चार वर्ष अघिनै नयाँ भवन बनाउने प्रयास भए पनि पुरातत्व विभागको उल्झनले भवन निर्माणमा ढिलाइ भएको बताउनुभयो । भवनको बाहिरीस्वरुप पुरानै शैलीमा रहे पनि भित्री तथा पछाडीको भाग अत्याधुनिक सुविधा सम्पन्न भूकम्पप्रतिरोधात्मक हुनेछ ।
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकको भवन पुरातत्व विभागको स्वीकृतिमा पुरानै शैलीमा निर्माण गरिने उल्लेख गर्नुभयो । बैंकको गुरुयोजनाअनुसार मुख्य तीन ब्लक क्रमशः मुख्य बैंकिङ कार्यालय भवन, चमेनागृह, हेल्थ क्लब र सेक्युरिटी ब्लक निर्माण हुनेछ । राणाकालीन सिंह महलमा राष्ट्र बैंकले कार्यालय सञ्चालन गर्दै आएको थियो । भूकम्पले क्षति पु¥याएपछि पुरानै स्थानमा नयाँ भवन बनाउन लागिएको हो । उक्त भवन निर्माणका लागि २०७५ वैशाख १४ मा बोलपत्र आह्वान गरिएको । बिलिल कन्टेक जेभीले निर्माणको जिम्मा पाएको छ ।
पुरातत्व विभागको अनुमतिमा बैंंकको हाल भइरहेको पुरानो स्वरुपमा कुनै परिवर्तन नहुने गरी नयाँ भवन निर्माण गर्न लागिएको छ । पुरानो भवनको नोट व्यवस्थापनका लागि झण्डै एक महिना लाग्नेछ । ती नोटलाई केन्द्रीय कार्यालयमा लगिनेछ । दसैँसम्म नोट वितरण र व्यवस्थापनका लागि थापाथली तथा दसैँपछि सबै विभाग केन्द्रीय कार्यालयमा लगिने डेपुटी गर्भनर शिवाकोटीले बताउनुभयो । भूकम्पले क्षति पु¥याएको बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयको नयाँ भवन पनि चाँडै निर्माण शुरु गरिने बताइएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19