काठमाण्डौ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले २ हजार दरका नोट चलनचल्तीबाट हटाउने निर्णय गरेको छ। यद्यपि यो नोट लिगल टेन्डरमा कायमै रहनेछ। 

आरबीआईले जनतालाई मे २३ देखि ३० सेप्टेम्बर ३० तारिखसम्म २ हजार दरका नोट सटही गर्न वा बैंकमा जम्मा गर्न आग्रह गरेको छ। यसका लागि आरबीआईले निर्देशिका जारी गरेको छ। 

निर्देशिकाबमोजिम मानिसले एकदिनमा २ हजार दरका १० वटा नोट बैंक गएर सटही गर्न सक्नेछन्। खातामा जम्मा गर्नका लागि भने सीमा तोकिएको छैन। बैंकको नियमानुसार ग्राहकले जति चाहे त्यति नै खातामा जम्मा गर्न सक्छन्। तर, रकमको स्रोत भने देखाउनुपर्नेछ। 

आरबीआईको नियमअनुसार एक दिनमा ५० हजार रुपैयाँ र वर्षभरि २० लाख रुपैयाँ नगद बैंक खातामा जम्मा गर्न सकिन्छ। योभन्दा बढी रकम जम्मा गर्न चाहनेले प्यान कार्ड वा आधार कार्ड देखाउनुपर्छ। यी कार्ड बिना तोकिएको लिमिटभन्दा बढी पैसा पनि निकाल्न पाइन्न। 

आरबीआईको निर्देशिका अनुसार कोही व्यक्ति यदि एक दिनमा ५० हजार र वर्षमा २० रुपैयाँभन्दा बढी जम्मा गर्न वा निकाल्न चाहन्छन् भने बिना प्यान वा आधार कार्ड सम्भव हुने छैन। 

त्यसैले २ हजार दरका नोट जम्मा गर्न पनि यो नियम लागू हुनेछ। यसको अर्थ मानिसले २ हजार रुपैयाँ २४ वटा नोट बिना कुनै कागजपत्र सजिलै जम्मा गर्न सक्नेछन् तर ५० हजार रुपैयाँ वा सोभन्दा माथिको रकम जम्मा गर्न पनि प्यान वा आधार कार्ड अनिवार्य चाहिन्छ। 

२ हजार दरका नोट बिना कुनै झन्झट बैंक खातामा जम्मा गर्नका लागि ग्राहकको केवाईसी अपडेट गरेको हुनुपर्नेछ। यदि केवाईसी अपडेट गरिएको छैन भने रकम जम्मा गर्न समस्या हुनेछ। 

आरबीआईले २ हजार दरका नोट सटही वा बैंकमा जम्मा गर्न ४ महिनाको समय दिएको छ। यो अवधिमा मानिसले २ हजार दरका नोटको सटही वा जम्मा नगरेमा आरबीआई जानुपर्ने हुन्छ। –एजेन्सी