काठमाण्डौ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले गत शुक्रबार २००० दरका सबै नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको थियो। भोलि अर्थात् मे २३ बाट २००० दरका नोटको सहटी प्रक्रिया सुरु हुँदैछ। 

आरबीआईले देशका सबै बैंकलाई यसका लागि तयार रहन भनेको छ। तर, पछिल्लो २ दिनदेखि सबैभन्दा बढी अन्योल यही थियो कि २००० दरका नोट साट्न बैंकमा फारम भर्नुपर्ने हो कि होइन ? अहिले रिजर्भ बैंकले यो भ्रम हटाएको छ। 

रिजर्भ बैंकले नयाँ सर्कुलर जारी गर्दै २००० दरका नोटको तथ्यांक राख्न बैंकले प्रत्येक जम्मा र सटहीमा फारम भर्नुपर्ने स्पष्ट उल्लेख गरेको छ।

आरबीआईका गभर्नर शक्तिकान्त दासले २००० दरका सबै नोटको विवरण राखिने बताए। आरबीआईले आफ्नो वेबसाइटमा जारी गरेको परिपत्रमा सबै बैंकले २००० दरका नोट जम्मा गर्ने वा साट्ने सम्बन्धमा दैनिक तथ्यांक तयार गर्ने र उनीहरुसँग माग गर्दा उपलब्ध गराउने जनाएको छ। 

आरबीआईले फारमको ढाँचा पनि जारी गरेको छ। यसमा बैंकको नाम, मिति, नोट साट्ने रकम र कुल रकम भरिनेछ। यो फारम बैंकका कर्मचारीहरुले भर्नेछन् र यसमा बैंकका कर्मचारीको हस्ताक्षर पनि हुनेछ। बैंकले सबै ग्राहकको डाटा तयार गर्नेछ। तर, केन्द्रीय बैंकले जनतासँग २००० दरका नोट भएकाले मे २३ देखि सेप्टेम्बर ३० सम्म अन्य मूल्यका नोटहरु साट्न सक्ने जनाएको छ। 

आरबीआई गभर्नर शक्तिकान्त दासले नोट परिवर्तन गर्दा नआत्तिन सर्वसाधारणलाई अपिल गरेका छन्। ‘मानिससँग ४ महिनाभन्दा बढी समय छ’, उनले भने, ‘उनीहरु सजिलै जुनसुकै शाखामा गएर २००० का नोट साट्न सक्छन्।’

आरबीआईले ‘क्लिन नोट नीति’ अन्तर्गत २००० दरका नोट बन्द गर्ने निर्णय गरेको छ। यो नीतिअन्तर्गत आरबीआईले क्रमशः २००० दरका नोट बजारबाट फिर्ता लिनेछ। भारतको सरकारी तथ्यांकका अनुसार हाल ३.६२ लाख करोड रुपैयाँको २००० दरका चलनचल्तीमा छन्। तर, लेनदेन भने निकै कम भइरहेको छ। –एजेन्सी