– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपालको अर्थतन्त्रमा तरलता चाप उच्च भएसँगै सेयर लगानीकर्ता, व्यवसायी, बैंक तथा वित्तीय क्षेत्र सबै मर्कामा परेका छन्। अहिले भएको तरलता संकटलाई सहज गर्न राष्ट्र बैंकका साथै अर्थ मन्त्रालयले विभिन्न औजार र विकल्प अनुसरण गर्दै आएका छन्।

सेयर धितो कर्जामा कडाइ, आयातमा कडाइ, घरजग्गा कर्जामा कडाइजस्ता विकल्प राष्ट्र बैंकले प्रयोग गर्दै आएको थियो। हिजो भने राष्ट्र बैंकले सुन आयातमा समेत कडाइ गर्दै निर्देशन जारी गरेको छ।

मौद्रिक समीक्षामा विलासिताको वस्तुमाथि नियन्त्रण गर्ने भनिएसँगै नेपाल राष्ट्र बैंकले हिजो एक सूचना जारी गर्दै सुन आयातको कोटामा कटौती गरेको छ। राष्ट्र बैंकद्वारा प्रकाशित यो सूचनाअघि दैनिक २० किलो सुन आयात गर्दै आएका वाणिज्य बैंकहरुले १० किलो सुनमात्र आयात गर्न पाउने भएका छन्।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यका अनुसार राष्ट्र बैंकले यही निर्देशन रहिरहँदा आउँदो वैशाखमै सुनको हाहाकार हुन सक्ने बताए। ‘अहिले सुनको मूल्य बढेकाले यसको माग कम छ’, शाक्य भन्छन्, ‘त्यसैले राष्ट्र बैंकको उक्त निर्देशनले त्यति नकारात्मक असर गर्ने देखिँदैन। तर, दीर्घकालीन रुपमा जस्तै वैशाखमा बिहेको लग्न धेरै भएकाले सुनको माग बढ्छ। त्यसैले यो कोटाले नपुग्ने भएकाले राष्ट्र बैंकले त्यसबेला यो निर्देशनमा पुनर्विचार गर्नुपर्छ।’

चैतसम्ममा सरकारको बजेट खर्च, वैदेशिक मुद्राको रिजर्भ बढ्नुका साथै तरलता सहज हुने देखिएकाले अर्थतन्त्र सामान्य अवस्थामा फर्किने देखिएको पनि शाक्य बताउँछन्। ‘त्यसैले यस्तो बाध्यात्मक अवस्थामा हामी व्यवसायीले पनि बुझ्नुपर्छ’, शाक्य भन्छन्, ‘भोलि यस विषयमा हाम्रो महासंघको छलफल पनि रहेको छ। त्यसपछि राष्ट्र बैंकका साथै अर्थमन्त्रीसँग छलफल गर्ने हाम्रो योजना रहेको छ।’
वैशाखसम्म पनि यही निर्देशन जारी रहेमा नेपाली सुन बजारमा सुनको हाहाकार हुनुका साथै सुनको सहज अवैध व्यापारहरु बढ्ने समेत शाक्यले बताए।

नेपाली समुदायमा सुनको व्यापार विवाहको सिजनमा फस्टाउनुको साथै सुनको माग अत्यधिक हुने गरेको छ। २०७८ सालमा विवाहका लगन ३१ वटा थिए। चालु आर्थिक वर्षको माघसम्म मात्र ३ हजार ६४३ किलो सुन आयात भइसकेको छ। यो वैध च्यानलबाट आएको सुनको तथ्यांक हो। नेपालमा बोर्डर, एयरपोर्टका साथै अन्य ठाउँ हुँदै अवैध च्यानलबाट उतिकै सुन आउने गरेको छ।  

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २०७९ मा विवाहका ५६ वटा लगन निस्किएका छन्। गत वर्षको तुलनामा यस वर्ष झन्डै दुई गुणा बढी लगन जुरेको छ। 

सर्वाधिक लग्न वैशाखमा अर्थात् १७ वटा लग्न जुरेको छ। त्यसैले गत वर्षको तुलनामा यस वर्ष सुनको माग अत्यधिक हुने देखिन्छ।