काठमाण्डौ । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रूपले हजारौं कर्मचारी कटौती गर्ने भएको छ ।

बैंकले विश्वभर रहेका आफ्नो कुल कर्मचारीमध्येबाट १० प्रतिशतलाई हटाउने योजना बनाइरहेको छ । यो योजनामा करिब २० हजार कर्मचारीले जागिर गुमाउने देखिएको छ ।


गएको वर्ष कम्पनीका प्रमुख एवंम् प्रमुख कार्यकारी अधिकृत जेन फ्रेजरले गरेको पुनःसंरचनाको योजनाअन्तर्गत कर्मचारी कटौती गर्न लागिएको हो ।

त्यतिबैलै सीईओ फ्रेजरले सन् २०२४ बैंकका लागि ‘टर्निङ प्वाइन्ट’ भनेका थिए । कम्पनीले सीमापारका कतिपय व्यवसाय भने बिक्री गरिसकेको छ ।

सन् २०२३ को अन्तिम तीन त्रैमासमा कम्पनीले १ अर्ब ८० करोड डलर घाटा नोक्सानी व्यहोरेको थियो। यो कम्पनीले कयौं वर्षयता व्यहोरेको सबैभन्दा ठूलो घाटा थियो ।
 

कम्पनीले पछिल्लो त्रैमासिकमा घाटा अर्जेन्टिनाको पेसोको अवमूल्यन र गत वर्ष केहि बैंकहरु पतन भएपछि त्यहाँको सरकारले अमेरिकी बैंकहरूमा विशेष शुल्क जस्ता विविध कारण रहेको बताएको छ । 

सन् २०२३ को शुरुमा विश्वभर बैंकले २ लाख ४० हजारलाई जागिर दिएको थियो । सन् २०२५ वा २०२६ सम्ममा यो संख्या घटाएर १ लाख ८० हजारमा ल्याइने आशा गरिएको छ ।
 

बेलायतमा १६ हजारभन्दा बढी मानिसहरूलाई रोजगारी दिने कम्पनीले त्यहाँ कति रोजगारी गुम्न सक्छ वा कुन एकाइहरू सबैभन्दा बढी प्रभावित हुनेछन् भनेर विस्तृत विवरण दिन भने अस्वीकार गरेको छ ।
बैंकको पुनःसंरचनाका लागि यो वर्ष मात्रै १ अर्ब डलर खर्च हुने अनुमान छ । तर मध्यकालीन अवधिमा यो पहलबाट कम्पनीले साढे २ अर्ब डलर बचाउने छ ।

सिटी ग्रूप अमेरिकाको पाँच ठूला बैंकहरुमध्ये पर्दछ ।यो योजना सार्वजनिक भएपछि कम्पनीको सेयरमूल्य १.०४ प्रतिशतले ओरालो लागेको छ । -एजेन्सी