काठमाण्डौ । कुनै अति नै कमजोर भई खराब बित्तीय स्वास्थ्य भएको वाणिज्य बैंकको पहिचान बनाएको सिभिल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा आशालाग्दो प्रगति गरेको छ । 

यो बैंकले खूद नाफातर्फ ३० प्रतिशतको हाराहारीमा बढोत्तरी गरेको छ भने संचालन नाफातर्फ १७ हजार ८७ प्रतिशतको चमात्कारिक छलाङ मारेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको खूद नाफा १६ करोड ७३ लाख रहेकोमा बढेर यो वर्ष २१ करोड ६९ लाख पुगेको छ । यस्तै, गत वर्षको दोश्रो त्रैमासमा २ लाख रुपैयाँको न्यून विन्दुमा रहेको संचालन नाफा बढेर ३ करोड ५५ लाखको उचाईमा पुगेको छ । व्यवस्थापनले अनावश्यक खर्च नियन्त्रणमा ध्यान दिंदा संचालन नाफाले यो स्तरको फड्को मारेको देखिएको छ ।

तर, यो बैंकले प्रोभिजनमा रहेको २६ करोड ९६ लाख फिर्ता ल्याए पनि नाफामा ३० प्रतिशतको मात्र प्रगति हुनु उति सन्तोषजनक भने छैन ।  

समीक्षा अवधिमा बैंकले ३७ अर्ब निक्षेप संकलन गरी ३३ अर्ब ५५ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३२ अर्ब ९३ करोड निक्षेप संकलन गरी २९ अर्ब ५० करोड कर्जा प्रवाह गरेको थियो ।

बैंकले व्यवसाय बिस्तारमा धेरै ठूलो प्रगति भने गर्न सकेन । यहीकारण खूद ब्याज आम्दानीतर्फ सामान्य मात्र प्रगति भएको छ । अघिल्लो वर्ष ५४ करोड ९३ लाख रहेको यस्तो आम्दानी बढेर ५७ करोड  ८४ लाखको उचाईमा पुगेको हो ।

अघिल्लो वर्ष १ अर्ब ४२ करोडमा सीमित रिजर्बकोष केही मजबुत भई १ अर्ब ७३ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष यही अवधिमा ४.४५ प्रतिशत रहेको खराब कर्जा बढेर ४.५२ प्रतिशत पुगेको हो । बैंकको बित्तीय स्वास्थ्यका लागि यो चिन्ताको बिषय हो । 

यस्तै, बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी केही बढेर ८.९३ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ७.३२ रुपैयाँ थियो । यो  अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३३.५६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.५७  गुणा  कायम भएको छ ।