काठमाण्डौ । एक सरकारीसहित २८ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपरिस्कृत बित्तीय विवरण प्रकाशित गरेका छन् । तेश्रो त्रैमासको प्रगतिका आधारमा बैंकहरुको सवल र दुर्बल पक्षको बिषयमा चर्चा हुन थालेको छ । 

तेश्रो त्रैमासको प्रगतिका आधारमा सम्बन्धित बैंकले लगानीकर्तालाई दिनसक्ने  प्रतिफलको आँकलन गर्न सजिलो भएका कारण समेत यो बेलाको रिपोर्टलाई विशेष चासोका साथ हेरिन्छ । सेयर बजारका लगानीकर्ताहरुका लागि समेत तेश्रो त्रैमासमा वाणिज्य बैंकहरुले गरेको प्रगतिका आधारमा उनीहरुको बित्तीय स्वस्थ्यता प्राथमिकताप्राप्त बिषय हुन् । बित्तीय स्वास्थ्यका लागि आवश्यक प्रमुख सूचकहरुमा कसको कस्तो प्रगति छ ? कसको अवस्था कस्तो छ ? हामीले तेश्रो त्रैमासको रिपोर्टका आधारमा प्रमुख  सूचकहरु केलाउने कोशिश गरेका छौ । 

चुक्तापूँजीमा प्रगति


वाणिज्य बैंकहरुले प्रकाशन गरेका चालू आर्थिक वर्षको तेस्रो त्रेमासको वित्तीय विवरण अनुसार पूजीवृद्धिमा लक्ष्मी बैैक सबैभन्दा अगाडि देखिएको छ । 

यस वर्ष बैंकले करीब १ सय ६० प्रतिशतले पूँजी वृद्धिमा फड्को मारेको देखिएको छ । गत वर्षको तेस्रो त्रैमासमा १ अर्ब १५ करोड रुपैयाँ मात्र चुक्तापूँजी रहेको बैंकले यस वर्षको तेस्रो त्रैमासमा आइपुग्दा ८ अर्ब २२ करोड पुर्याएको हो ।

लक्ष्मीको यो छलाङलाई सेञ्चुरी कमर्सियल र स्ट्याण्डर्ड चार्टर्डले पछ्याएका छन् । सेञ्चुरीले १ सय १८ दशमलव ५८ प्रतिशत चुक्तापूँजी वृद्धि गरेको छ भने स्ट्यान्डर्ड चार्टर्डले एक सय १३ दशमलव ६४ प्रतिशतको फड्को मारेको छ ।

वाणिज्य बैंकको चुक्ता पूँजी ८ अर्ब पुर्याउन राष्ट्रबैंकको निर्देशन छ । कुमारी र एभरेष्ट पनि क्रमशः ८२ दशमलव ७७ र ७२ दशमलव ९९ प्रतिशतको दरले पूँजी वृद्धि गर्न सफल भएका छन् । तर, कुमारीले करीव ८२ प्रतिशत पूँजी वृद्धि गरे पनि उसको ८ अर्ब पूँजी पुग्न सकेको छैन । गत वर्ष ३ अर्ब २६ करोड पूँजी भएको कुमारीको यस वर्ष ५ अर्ब ९६ करोड मात्र रहेको छ ।अपुग पूँजीका लागि कुमारीले हकप्रदको बाटो रोजेको छ ।

उता, एनसीसी, कुमारी, एनएमबी, सिभिल र बैंक अफ काठमाडौँको पनि चुक्ता पूँजी ८ अर्ब पुग्न बाँकी नै छ । बैंक अफ  काठमाडौँले २५ दशमलव ६३, सिभिलले ५१ दशमलव २९ र कुमारीले ८२ दशमलव ७७ प्रतिशत पूँजीवृद्धि गरे पनि एनएमबी र एनसीसी भने पूजीवृद्धिका मामलामा चिरनिद्रामा परे झै देखिएका छन् । हुन त एनसीसी आन्तरिक लफडामा फसेका कारण समेत उसको पूँजी वृद्धि योजना अन्यौलमा पर्यो भने एनएमबी बैंक एफपीओमार्फत पूँजी पुर्याउने दाउमा छ । 

चालू आबमा मात्र वाणिज्य बैंकहरुले १ खर्ब ६३ अर्ब पूँजी वृद्धि गरेका छन् । यसकारण चालू आवमा मात्र शेयरबजारमा १ अर्ब ६३ करोड कित्ता शेयर वाणिज्य बैंकका मात्र थपिएका छन् । 

जगेडातर्फ कसको अवस्था कस्तो ? 


वाणिज्य बैंकहरुले प्रकाशन गरेका चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार जगेडाकोषको आकार बढाउने मामलामा कुमारी बैैक सबैभन्दा अगाडि देखिएको छ । यस वर्ष बैंकले जगेडामा १ सय ४५ दशमलव ९२ को उत्साहप्रद वृद्धि गरेको छ । गत वर्षको तेस्रो त्रैमासमा १ अर्ब १४ करोड रुपैयाँमात्र जगेडा रहेको बैंकले यस वर्षको तेस्रो त्रैमासमा आइपुग्दा २ अर्ब ८१ करोड पुर्याएको हो । कुमारीको यो छलाङलाई राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले पछ्याएका छन् । राबाले १ सय ३७ दशमलव ९९ प्रतिशतले जगेडा कोष वृद्धि गरेको छ भने नेपाल बैंकले एक सय १६ दशमलव १७ प्रतिशतको फड्को मारेको छ ।

समीक्षा अवधिमा एनआइसी र लक्ष्मी बैंकको जगेडा कोष भने घटेको छ । यी बैंकको जगेडा कोषमा क्रमशः १ दशमलव ५२ र ४९ दशमलव ९० प्रतिशतले कमी आएको हो । 

निक्षेप 

तेश्रो त्रैमाससम्म निक्षेप संकलनमा एनआइसी एशियाले उत्साहप्रद फड्को मारेको छ । यस वर्ष बैंकको गत वर्षको भन्दा ६९ दशमलव १४ प्रतिशत बढी प्रगति देखिएको हो । गत वर्षको ९ महिनासम्म ७९ अर्ब ६ करोड रुपैयाँमात्र निक्षेप संकलन गरेको बैंकले यस वर्षको तेस्रो त्रैमासमा आइपुग्दा १ खर्ब ३३ अर्ब पुर्याएको हो । एनआइसीको यो छलाङलाई सेञ्चुरी र कुमारीले पछ्याएका छन् । सेञ्चुरीले ५९ दशमलव १ प्रतिशत निक्षेप संकलन वृद्धि गरेको छ भने कुमारीले ५८ दशमलव ४२ प्रतिशतको फड्को मारेको छ ।

चालू आवमा एसबीआई र स्ट्यान्डर्ड चार्टर्डको निक्षेप संकलन भने घटेको छ । यी बैंकको निक्षेपमा गत वर्षको भन्दा पनि क्रमशः १ दशमलव ८९ र १२ दशमलव २९ प्रतिशतले कमी आएको हो । 

कर्जा तथा सापटीमा कसको अवस्था कस्तो ?


समीक्षा अवधिमा कर्जा तथा सापटीतर्फको प्रगतिमा  सेञ्चुरीको छलाङ छ । यस वर्ष बैंकले गत वर्षको भन्दा ६६ दशमलव ३७ प्रतिशत बढी प्रगति गरेको देखिएको हो । गत वर्षको तेस्रो त्रैमाससम्ममा ३० अर्ब ६ करोड रुपैयाँ मात्र कर्जा तथा सापटी प्रदान गरेको बैंकले यस वर्षको तेस्रो त्रैमासमा आइपुग्दा ५० अर्ब २ करोड कर्जा प्रवाह गरेकोे छ । 

कुमारी र एनआइसीको कर्जातर्फको प्रगति समेत उत्साहप्रद देखिएको छ । कुमारीले यो सूचकमा गत वर्षको भन्दा ६४ दशमलव ८४ प्रतिशत बढी प्रगति गरेको छ भने एनआइसीले ५९ दशमलव ७३ प्रतिशतको फड्को मारेको छ । चालू आवमा कुनै पनि बैंकको कर्जा प्रवाहमा कमी आएको छैन । तर, एनसीसी र कृषि विकास बैंक सूचीको अन्तिमम परेका छन् । दुवै बैंकको प्रगति समान ७ प्रतिशत मात्र छ ।

खुद ब्याज आम्दानी 


खुद ब्याज आम्दानीमा प्रगतिको हिसाबले जनता बैंकले सबै वाणिज्य बैंकहरुलाई टपेको छ । बैंकहरुले प्रकाशन गरेको चालू आर्थिक वर्षको तेस्रो त्रेमासको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानीमा जनताको व्यापक छलाङ मारेको छ । यस वर्ष बैंकले गत वर्षभन्दा १ सय ११ दशमलव २६ प्रतिशत बढी प्रगति हासिल गरेको हो । गत वर्षको तेस्रो त्रैमाससम्ममा ७४ करोड ५२ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्षको तेस्रो त्रैमासमा आइपुग्दा १ अर्ब ५७ करोड ब्याज आम्दानी गरेकोे छ । 

यस्तै, कुमारीले यो सूचकमा गत वर्षको भन्दा ६४ दशमलव ८७ प्रतिशत बढी प्रगति गरेको छ भने सेञ्चुरीले ५९ दशमलव २८ प्रतिशतको फड्को मारेको छ । 

उता, ग्लोबल आइएमइ, प्रभु, कृषि विकास र एनसीसी भने ओरालो लागेका छन् । यी बैंकको क्रमशः १ दशमलव ५५, २ दशमलव ५१, १६ दशमलव ३८, र ३४ दशमलव ६७ प्रतिशत ब्याज आम्दानी गत वर्षको भन्दा पनि कम भएको छ ।

संचालन मुनाफा 


चालू आवको वित्तीय विवरणले संचालन मुनाफा आर्जन गर्ने प्रगति सूचकमा सिभिल बैंकको छलाङ व्यापक देखिएको छ । यस वर्ष संचालन मुनाफा आर्जनका सूचकमा बैंकको प्रगति ४ सय ८१ दशमलव ८ प्रतिशतको फड्को पार गरेको देखिएको हो ।

सिभिलले सबै वाणिज्य बैंकहरुलाई पछि पार्दै यो प्रगति पस्केको हो । तेस्रो त्रेमासको वित्तीय विवरण अनुसार बैंकको संचालन मुनाफा गत वर्षको भन्दा करीब ५ गुणा बढी हो । गत वर्षको तेस्रो त्रमाससम्ममा ३ करोड मात्र संचालन मुनाफा आर्जन गरेको बैंकले यस वर्षको तेस्रो त्रैमासमा आइपुग्दा १७ अर्ब ४६ लाख संचलन मुनाफा आर्जन गरेको हो । सिभिलको यो अविश्वसनीय प्रगतिलाई एनसीसी र सेञ्चुरीले पनि पछ्याएका छन् । एनसीसीले यो सूचकमा गत वर्षको भन्दा करीब ३ सय प्रतिशत बढी प्रगति गरेको छ भने सेञ्चुरीले ८१ दशमलव २२ प्रतिशतको फड्को मारेको छ । 

उता, सनराइज, ग्लोबल, कृषि विकास एनआइसी , माछापुच्छ्रे, नेपाल बंगलादेश, हिमालयन, मेगा, प्रभु,र कृषि विकासको भने सञ्चालन मुनाफा ओरालो लागेको छ । कृषि विकास बैंक यो सूचकमा सबैभन्दा धेरैले ओरालो लागेको देखिएको छ । उसको प्रगति ६४ दशमलव ३४ प्रतिशत नकारात्मक छ । 

खुद नाफामा कसको कति प्रगति ?


२८ बैंकमध्ये २२ वटाले गत वर्षको सोही अवधिको तुलनामा नाफा बढाएका छन् भने बाँकी  ६ वटाको नाफा घटेको छ । 

हामीले २८ वटा वाणिज्य बैंकहरुले नाफातर्फ गरेको प्रगतिलाई विश्लेषण गर्ने कोशिश गरेका छौ । यी २८ बैंकमध्ये नाफामा सबैभन्दा ठूलो पहिरो प्रभू बैंकले व्यहोरेको छ । यो बैंकको नाफा गत वर्षको तुलनामा ४० प्रतिशतले घटेको देखिएको छ । 

यस्तै, नाफातर्फ सबैभन्दा राम्रो प्रगति  नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी)बैंकले गरेको छ । जसले गत वर्षको तेश्रो त्रैमासको तुलनामा समीक्षा अवधिमा नाफामा २२५ प्रतिशतको छलाङ मारेको हो । यस्तै,  सिभिल बैंकको नाफा पनि १२७ प्रतिशतले वृद्धि भएको छ । 

नाफातर्फको प्रगतिमा सिभिलपछि १०३ प्रतिशतको वृद्धिसहित सेञ्चुरी कमर्सियल बैंक तेश्रो स्थानमा छ । ८८ प्रतिशतको प्रगतिसहित कुमारी बैंक चौथो, ५१ प्रतिशतको प्रगतिसहित जनता बैंक पाँचौ स्थानमा छन् ।

नाफातर्फको बढोत्तरीको हिसाबले २७ वाणिज्य बैंकमध्ये टप १० मा राष्ट्रिय वाणिज्य बैंक, प्राइम, लक्ष्मी, सिद्धार्थ, सानिमा, एसबीआई बैंक समेटिएका छन् । समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८ करोड बढी गरेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ८३ करोड, नवील बैंकले २ अर्ब ७९  करोड, नेपाल बैंकले २ अर्ब ५६ करोड नाफा आर्जन गरेका छन् । ११ बैंकको नाफा १ अर्ब माथि छ । 

प्रतिसेयर आम्दानी


समीक्षा अवधिमा वार्षिकीकृत प्रतिशेयर आम्दानीमा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि देखिएको छ । यो बैंकको वार्षिकीकृत इपीएस ४७.८९ रुपैयाँ रहेको छ । यस्तै, नबील बैंकको इपीएस ४६ दशमलव ८३ रुपैयाँ छ भने नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले क्रमशः नबिल बैंकलाई पछ्याएका छन् । नेपाल बैंकको प्रतिशेयर आम्दानी ४२ दशमलव ५७ रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको प्रतिशेयर आम्दानी ३५ दशमलव ५५ रुपैयाँ कायम भएको छ । 

यता, सबैभन्दा कम प्रतिशेयर आम्दानी भएका बैंक चाँहि सिभिल, मेगा र जनता भएका छन् । सिभिल बैंकको सबैभन्दा कम ८ दशमलव ९१रुपैयाँ मात्र प्रतिशेयर आम्दानी भएको छ भने मेगा बैंक र जनता बैंकको प्रतिशेयर आम्दानी क्रमशः ९ दशलव ५५ र ९ दशमलव ५९ कायम भएको छ ।

खराब कर्जा कसको कति प्रतिशत ?

चालू आवको तेस्रो त्रैमासिक विवरण अनुसार नेपाल एसबीआई बैंकमा सबैभन्दा कम खराब कर्जा रहेको छ । उसले प्रवाह गरेको कुल कर्जामध्ये शून्य दशमलव १३ प्रतिशत मात्र खराब कर्जा रहेको वित्तीय विवरणमा उल्लेख छ । 

यसैगरी सानिमा र स्ट्यान्डर्ड चार्टर्ड पनि खराब कर्जा कम भएका बैंक हुन् । सानिमामा शून्य दशमलव १७ प्रतिशत खराब कर्जा छ भने स्ट्यान्डर्डमा शून्य दशमलव २१ प्रतिशत खराब कर्जा छ । बैंकमा खराब कर्जा जति कम भयो उति नै राम्रो मानिन्छ । 

कृषि विकास बैंक, सिभिल बैंक, प्रभु र एनसीसी बैंक भने खराब कर्जा सबैभन्दा बढी अनुपातमा भएका बैंक हुन् । यी बैंकमा कूल कर्जाको ३ प्रतिशत भन्दा बढी खराब कर्जा रहेको छ । एनसीसीमा ३ दशमलव ९७ प्रतिशत खराब कर्जा छ । यो वाणिज्य बैंकमध्येकै सबैभन्दा बढी हो ।

पीई र आरओई : कसको कति ?