काठमाण्डौ ।विश्व बजारमा यो साता क्रिप्टो करेन्सिको राजा भनेर चिनिने डिजिटल मुद्रा बिट्क्वाइन दुई वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।

यो साता बिहीबार विटक्वाइन प्रतिगोटा ४९ हजार अमेरिकी डलरमा कारोबार भएको छ । यसअघि सन् २०२२ को मार्चमा यो मुद्राको मूल्य ४९ हजार अमेरिकी डलर पुगेको थियो ।

यसअघि सन् २०२३ को जनवरिबाट निरन्तर उकालो लागेको यो करेन्सि हाल ४९ हजार पुगेको हो  । कुनै समय ६५ हजार डलरसम्म पुगेको  यो मुद्रा  त्यसपछि लगातार घटेर १६ हजार अमेरिकी डलरमा झरेको थियो ।

तर सन् २०२३ देखि यो निरन्तर बढेको छ । सन् २०२४लाई ‘बिट्क्वाइन वर्ष’ को रुपमा परिचित हुने भनेर अन्तरराष्ट्रिय बजारमा चर्चापरिचर्चा पनि चलेको छ  । 

क्वाइन सेयरका अनुसार यसरी निरन्तर मूल्य बढ्नुको मूख्य कारण विश्व बजारमा संस्थागत लगानीकर्ताहरुले यसमा आकर्षण बढ्नु हो । 

बिट्क्वाइनमा अन्तरराष्ट्रिय  संस्थागत लगानीकर्ताहरुले सन् २०२३ मा मात्रै २.२५ विलियन डलर लगानी गरेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

शुक्रबार यो समाचार तयार पार्दासम्म भने यो मुद्रा पुनः गिरावट आएर ४६ हजार डरलमा कारोबार भइरहेको छ ।

योसँगै विश्वबजारमा अन्य भर्चुअल क्वाइनको मूल्य पनि बढेको छ । इथेरियमा, लाइटक्वाइन जस्ता मुद्राको पनि मूल्य बढेको छ ।

क्वाइन बेस मार्केट क्यापका अनुसार बिट्क्वाइनको बजार पूँजीकरण  करिब ९०० बिलियन डलरमाथि पुगेको छ । 

बिट्क्वाइन भर्चुअल करेन्सी (अभौतिक मुद्रा) को एक रुप हो। भर्चुअल करेन्सीको कुनै भौतिक अस्तित्व हुँदैन तर यो विनिमयको एक यस्तो एकाइ हो जसलाई इन्टरनेटको माध्यमबाट अनलाइनमा मात्र प्रयोग गर्न सकिन्छ। 

भर्चुअल करेन्सीका विभिन्न रुपहरु मध्ये बिट्क्वाइन सबैभन्दा बढी चलनचल्तीमा रहेको अभौतिक मुद्रा हो ।

विश्वका विभिन्न मुलुकका सरकारी निकायमा बिट्क्वाइनजस्ता भर्चुअल करेन्सीको कारोबारलाई वैधानिकता दिने कि नदिने भन्ने विषयमा द्विविधा छ।

नेपालमा पनि बिट्क्वाइनको कारोबारलाई गैह्रकानूनी मानिएको छ  - एजेन्सी