काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि विकास बैंकले खूद नाफातर्फ राम्रो प्रगति गरेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले खूद नाफा ४६.३१ प्रतिशतले बढाएको हो । 

२८ करोड ८६ लाख रुपैयाँ गत वर्ष नाफा गरेकोमा यो वर्ष ४२ करोड २३ लाख नाफा आर्जन गर्न सफल भएको हो । 

मंगलबार बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा ८५ अर्ब ६६ करोड निक्षेप संकलन गरी ८१ अर्ब १३ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ७९ अर्ब ७७ करोड निक्षेप संकलन गरी ६६ अर्ब ३८ करोड कर्जा प्रवाह गरेको थियो । 

यो बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रै प्रगति हासिल गरेको छ । अघिल्लो वर्ष १ अर्ब ९ करोड रहेको खूद ब्याज आम्दानी यो वर्ष बढेर १ अर्ब ६१ करोडको उचाईमा पुगेको छ । 

यो बैंकको चुक्तापूँजी  १० अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा  ८ अर्ब ८० करोड रुपैयाँ छ । 

बैंकले निस्क्रिय कर्जाको दरलाई समेत घटाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ५.१५ प्रतिशत रहेको एनपीएल घटेर ३.८३ प्रतिशतमा झारेको हो । 

बैंकको प्रतिसेयर आम्दानी ३६.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३२१.२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.५१ गुणा कायम भएको छ ।