काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १८.०६ अंकले घटेको छ ।

बिहीबार बजार घटेर १ हजार ८५८.५३ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८० अंकले घटेर ३५६.०८ को विन्दुमा पुगेको छ। 
आज नेप्सेमा सूचीकृतमध्ये २८९ कम्पनीका ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारको विषयमा बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘यसरी लगातार बजार घट्नुमा मूख्य दोषि नेपाल राष्ट्र बैंक नै हो । किनकि बैक तथा वित्तीय संस्थाहरुलाई नियममा बाँध्ने संस्थाले म्रौद्रिक नीति आएको यत्रो लामो समयसम्म पनि समीक्षा ल्याउन नसक्नु भनेको उसको कमजोरी हो । मौद्रिक नीतिको समीक्षा समयमा नआउनु र लगानीकर्ता पर्ख र हेरको अवस्थाा रहनुले बजार घटेको हो ।’

उनका अनुसार यद्यपि बजार १ हजार ८०० बाट तल भने झर्दैन । 

अर्का बजार जानकार केशब कोइराला काका बजार यसरी घट्नुमा नेपाल धितोपत्र बोर्डको ओभर सप्लाइ भएको बताउँछन् । उनी भन्छन्, ‘संसारको पूँजीबजार माग र आपूर्तिले चलेको हुन्छ । हामीलाई आईपीओ निष्कासनमा नल्याउनुस भनेकै होइन, बुक विल्डिङ विधिबाट आईपीओ आएको खण्डमा अहिलेको बजारमा देखिएको समस्या समाधान भइहाल्छ । यसका लागि धितोपत्र बोर्डले तयारी सुुरु गरिहाल्नु पर्दछ ।’ उनका अनुसार अहिले बजारबाट  दैनिक पैसा पलायन भइरहेको , त्यसलाई नियन्त्रण गर्न तत्कालै नियामकले पहल गर्न जरुरि छ ।

आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूह मध्ये म्युचुअल फन्ड समूह बाहेक अरु सबै समूह राताम्मे भएको छ ।यो दिन म्युचुअल फन्ड समूह ०.११ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी हाइड्रोपावर समूह १.७३ प्रतिशतले घटेको छ  । यसैगरी दोस्रोमा वित्त समूह  १.५९ प्रतिशतले घटेको छ  ।यसैगरी, यो दिन होटल्स एन्ड टुरिजम १.५६ प्रतिशतले घटेको छ । 
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक तर्फको सेयरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको सर्वाधिक ११ करोड ६७ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । यसैगरी दोस्रोमा सोनापुर मिनरल्स एन्ड आयलको ८ करोड ४९ हजारभन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै यूनाइटेड ईदी मर्दि हाइड्रोपावरको ५ करोड १९ लाख बराबरको सेयर कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन रु रु हाइड्रोपावरको सेयरमूल्यमा सबैभन्दा धेरैले बढेको छ । यो दिन कम्पनीको सेयरभाउ ५.६३ प्रतिशतले बृद्धि भएको छ ।

यसैगरी, यो दिन एनआईबीएल प्रगति फन्डको इकाई ३.८७ प्रतिशतले उकालो लागेको छ । त्यसैगरी यो दिन तीन वटा अलग-अलग कम्पनीको सेयरभाउमा नकारात्मक सर्किट लागेको छ ।

नकारात्मक सर्किट लाग्ने ती कम्पनीहरुमा विजय लघुवित्त वित्तीय संस्था,माउन्टेन इनर्जि लिमिटेड र यूनाइटेड ईदी मर्दि हाइड्रोपावर रहेका छन् ।

यो दिन नै यूनाइटेड ईदी मर्दि हाइड्रोपावरको लकिन इन पिरियड सकिएका कारण बजारमा अधिक मात्रामा बिक्री चाप बढ्दा नकारात्मक सर्किट लागेको हो ।