काठमाण्डौ । चार ओटा अलग- अलग बीमा कम्पनीहरुले हकप्रद सेयर निष्कासनको प्रक्रिया सुरु गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापूँजी बृद्धि गर्न निर्देशन दिएपछि ती कम्पनीले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएका हुन् । 

जसमादुई जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनी छन् । प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी बृद्धि गर्न निर्देशन दिएको छ जसअनुसार लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल),प्रभु महालक्ष्मीलाइफ, एनएलजी इन्स्योरेन्स र नेको इन्स्योरेन्सले हकप्रद सेयर जारी गरेर पूँजी बृद्धि गर्न लागेका हुन् । 

चार बीमा कम्पनीमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) र एनएलजी इन्स्योरेन्सले भने नेपाल धितोपत्र बोर्डमा निवेदन समेत दिइसकेका छन् । 
लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) :
कम्पनीले  हाल कायम चुक्तापूँजीको ८८ प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डमा प्रस्ताव पेश गरेको छ । 
कम्पनीले १ः०.८८ अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँको २ करोड ३४ लाख ६८ हजार कित्ताहकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ । बोर्डबाट स्वीकृत प्राप्तभएपश्चात् कम्पनीले २ करोड भन्दा बढी हकप्रदजारी गर्नेछ । 
हकप्रदपश्चात् कम्पनीको चुक्ता
पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । 
प्रभु महालक्ष्मी लाइफ :
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि चुक्तापूँजी बृद्धि गर्न हकप्रद निष्कासनको प्रक्रिया अघि बढाइसकेको छ । कम्पनीले कायम चुक्तापूँजीको १७ प्रतिशत हकप्रद जारी गर्न नेपाल बीमा प्राधिकरणबाट स्वीकृत पाइसकेको छ । 
कम्पनीले हकप्रद निष्कासनको मुख्य प्रस्ताव राख्दै पुष २९ गते छैटौं वार्षिक साधारण सभा समेत आह्वान गरिसकेको छ । हकप्रद जारीपश्चात् कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।  कम्पनीको चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । साधारण सभाबाट पारित भएपछि कम्पनीले धितोपत्र बोर्डमा प्रस्ताव पेश गर्नेछ । 
नेको इन्स्योरेन्स :
नेको इन्स्योरेन्सले पनि चुक्तापूँजी बृद्धि गर्न हकप्रद सेयर निष्कासनको बाटो रोजेको छ । कम्पनीले कायम चुक्तापूँजीको २५ प्रतिशत हकप्रद जारी गर्न गत असोज १९ गतेको साधारण सभाले पारित गरिसकेको छ । 
कम्पनीले धितोपत्र बोर्डमा हकप्रद निष्कासन प्रस्ताव सम्बन्धि निवेदन पेश गर्ने प्रक्रियामा रहेको बताएको छ । कम्पनीले कायम चुक्तापूँजीको २५ प्रतिशत अर्थात् ५० करोड ३० लाख रुपैयाँ बराबरको ५० लाख कित्ता हकप्रद निष्कासन गर्ने प्रस्ताव बोर्डमा पेश गर्नेछ । 
हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको हाल चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ छ । 
एनएलजी इन्स्योरेन्स :
यो कम्पनीले पनि बीमा प्राधिकरणको निर्देशन पालना गर्दै हकप्रदमार्फत् पूँजी बृद्धि गर्ने योजना बनाएको छ । कम्पनीले कायम चुक्तापूँजीको ६६ प्रतिशत हकप्रद जारी गर्न धितोपत्रबोर्डमा निवेदन पेश गरिसकेको छ । 
कम्पनीले १०ः.६.६ अनुपातमा ९६ करोड ३१ लाख २२ हजार रुपैयाँको ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी २ अर्ब ४२ करोड २३ रुपैयाँ पुग्नेछ । 

कम्पनीको हाल चुक्तापूँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ छ । कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याउन अझै ७ करोड ८८ लाख रुपैयाँ अपुग छ ।