काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा देशको आर्थिक तथा वित्तीय स्वास्थ्य अवस्थाको डाइग्नोसिस रिपोर्ट प्रकाशित गरेको छ ।
केन्द्रीय बैंकले गरेको विश्लेषणका आधारमा गत वर्षको यही अवधिको तुलनामा उपभोक्ता मुद्रास्फिति घटेको देखिएको छ भने आयात घटी निर्यात बढेको छ ।
यस्तै, विप्रेषण आप्रवाह समेत बढेको देखिएको छ । कोभिड १९ का कारण जर्जर बनेको अर्थतन्त्रको ब्याकबोन मानिएको रेमिट्यान्सको फ्लो बढ्नुलाई सकारात्मक रुपमा लिन सकिन्छ ।
आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा अर्थतन्त्रको कुन सूचक कस्तो रह्यो ? बुँदागत रुपमा हेरौं:
मुद्रास्फिति
२०७७ कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.७६ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७५ प्रतिशत रहेको छ ।
यस्तै, २०७६ कात्तिकको तुलनामा २०७७ कात्तिकमा तरकारी उपसमुहको मूल्यवृद्धि २०.८८ प्रतिशत र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि १३.७० प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.३९ प्रतिशत, तराईमा ४.६९ प्रतिशत, पहाडमा ३.६४ प्रतिशत र हिमालमा ४.३२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ कात्तिकमा यी क्षेत्रहरुमा क्रमशः ६.५० प्रतिशत, ६.०४ प्रतिशत, ४.५६ प्रतिशत र ४.०१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
आयात/निर्यातको अवस्था
आर्थिक वर्ष २०७७/७८ को चार महिनामा कुल वस्तु निर्यात १०.८ प्रतिशतले वृद्धि भई रु.४० अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १४.९ प्रतिशत र ६.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५९.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामानहरु, छाला लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७७/७८ को चार महिनामा कुल वस्तु आयात १०.६ प्रतिशतले घटेर रु.४०२ अर्ब ४९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६.९ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.१ प्रतिशत, २५.० प्रतिशत र १९.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, उपचारका साधन तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात भनेघटेको छ ।
विप्रेषण बढ्यो
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले वृद्धि भई रु.३३७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो ।
चालु खाता र शोधनान्तर बचतमा
समीक्षा अवधिमा चालु खाता रु.२० अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३४ अर्ब १२ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३० करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ८ लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ९.३ प्रतिशतले कमी आई रु.४ अर्ब १५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.९ प्रतिशतले कमी आई रु.३ अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ५७ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ९२ करोड रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.११० अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२७ अर्ब २९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २४ करोड ८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको छ ।
यसैगरी, कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ६५ करोड अमेरिकी डलर रहेको छ । २०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.४ प्रतिशतले वृद्धि भई २०७७ कात्तिक मसान्तमा रु.१५०६ अर्ब ६ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई १२ अर्ब ६५ करोड पुगेको छ ।
समीक्षा अवधिमा संघीय सरकारको खर्च रु.२५० अर्ब ४१ करोड र राजस्व परिचालन रु.२४० अर्ब १५ करोड छ ।
विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २१.९ प्रतिशतले बढेको छ ।
निक्षेप र कर्जाको अवस्था
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.१ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २०.८ प्रतिशतले बढेको छ ।
२०७७ कात्तिकमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.९ प्रतिशत, ३३.४ प्रतिशत र ५०.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.७ प्रतिशत, ३२.५ प्रतिशत र ४८.७ प्रतिशत रहेको थियो ।
यस्तै, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ११.८ प्रतिशतले बढेको छ ।
यो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.९ प्रतिशतलेर विकास बैंकहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.५ प्रतिशतले घटेको छ ।
कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.५ प्रतिशत र १३.६ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ५.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४.३ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ७.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.८ प्रतिशतलेर मार्जिन प्रकृति कर्जा २१.६ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा २.८ प्रतिशतले र हायर पर्चेज कर्जा ३.३ प्रतिशतले घटेको छ ।
ब्याजदर
२०७६ कात्तिकमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ३.८३ प्रतिशत रहेकोमा २०७७ कात्तिकमा ०.७९ प्रतिशत कायम भएको छ ।
वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ कात्तिकमा २.५९ प्रतिशत रहेकोमा २०७७ कात्तिकमा ०.१४ प्रतिशत कायम भएको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७७ कात्तिकमा ०.१६ प्रतिशत कायम भएको छ ।
वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ कात्तिकमा ९.५० प्रतिशत रहेकोमा २०७७ कात्तिकमा ७.५७ प्रतिशत कायम भएको छ । २०७७ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.३१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.८१ प्रतिशत र १२.०७ प्रतिशत रहेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago