काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंक लिमीटेडले प्रस्ताव गरेको ७ बराबर १ अर्थात १४.२८ प्रतिशत हकप्रद निश्कासनको अन्तिम स्वीकृति प्रदान गरेको छ । 

लक्ष्मी क्यापिटल मार्केट्स लिमीटेड हिमालयन बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनको काम गर्ने बिक्री प्रबन्धक तोकिएको छ । 

२०७२  पुस ८ गते सम्पन्न हिमालयन बैंकको २३ औं वार्षिक साधारणसभाले  १४.२८ प्रतिशतको हिसाबले कुल ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । 

यो बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा १ अर्ब ९१ करोड खूद नाफा आर्जन गरेको थियो । यसको चुक्तापूँजी ४ अर्ब ४९ करोड रुपैयाँ छ । १४.२८ प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी ५ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ । यो बैंकको सेप्टेम्बर २९ को अन्तिम बिक्रीमूल्य प्रति कित्ता १५७० रुपैयाँ रहेको छ ।