काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सात वटा अलग- अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
 

यो दिन सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा हिमालयन रि-इन्स्योरेन्स, अपर स्यांगे हाइड्रोपावर,त्रिशुली जलविद्युत् कम्पनी, सिंगटी हाइड्रोपावर,नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र तेह्रथुम पावर कम्पनी छन् ।

धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएकै दिन सोमबारदेखि हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

सोमबार कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँमा पुगेको थियो । यो दिन भने १० प्रतिशतले बढेर ३७४.१० रुपैयाँमा कारोबार भइरहेको छ ।

मार्केट डेप्थमा उक्त अवधिसम्ममा ४३ लाख ३५ हजारभन्दा बढी कित्ता खरिद अर्डर छ भने बिक्री अर्डर शून्य छ ।

यो समाचार तयार पार्दाको अवधि १२: ५० बजेसम्ममा बजार ३२.५२ अंकले बढेर २ हजार ९२.०२ विन्दुमा पुगेको छ ।

यसैगरी, कारोबार भने २ अर्ब ६० करोड रुपैयाँभन्दा माथि भएको छ ।

हिमालयन सेयरमूल्य बारे बजार जानकार महेश रिजालले कम्पनीको सेयरमूल्य धितोपत्र बजारमा सूचीकृत भएपछि सकारात्मक प्रभाव परेको बताए ।

उनका अनुसार कम्पनीको सेयरमा अधिकतम खरिदकर्ताहरु देखिएकाले मूल्य अझै केही दिन बढ्ने अनुमान छ ।