काठमाण्डौ । नेपाल एसबीआई बैंकले निश्कासन गर्न लागेको अतिरिक्त निश्कासन(एफपीओ)का लागि प्रति कित्ता प्रिमियम मूल्य ९८४ रुपैयाँ प्रस्ताव गरेको छ । 

६७ हजार  ७ सय ६७ दशमलव ८७ कित्ता सेयरको अतिरिक्त निश्कासनका लागि प्रति कित्ता अंकित मूल्यमा ८८४ रुपैयाँ प्रिमियम थपेर प्रस्ताव पेश गरेको हो । 

बैंकको तर्फबाट प्रति कित्ता एफपीओका लागि ९८४ रुपैयाँ मूल्य तोकी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि निवेदन पेश भएको छ । 

नेप्सेमा प्रकाशित सूचनाका अनुसार गत अक्टोबर १७ गते सम्पन्न बैंकको ३९८ औं बोर्ड बैठकले ६७७६७.८७ कित्ता सेयर एफपीओ गर्ने निर्णय गरेको थियो । सोही बेला अंकित मूल्यमा प्रिमियम थवपेर ९८४ रुपैयाँ प्रस्ताव गरिएको हो । 

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशन गरी सूचिकृत भइसकेका कम्पनीको फर्दर पब्लिक इस्यू (एफपिओ) को मूल्य निर्धारण विधि तथा आधारहरु तयार गरे बमोजिम एसबिआईले मूल्य प्रस्ताव गरेको जनाएको छ । बोर्डले एफपिओको मूल्य निर्धारण गर्दा सम्बन्धित संस्थाको विगत , वर्तमान र भविष्यको वित्तीय विवरणको मूल्याङ्न तथा औषत बजारमूल्यका आधारमा गरिने विधी तथा आधार तयार पारेको थियो । सम्बन्धित कम्पनीको पूँजीकृत भएको आम्दानी, प्रतिशेयर खुद सम्पतिको मूल्य, १८० दिनको औषत बजारमूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यको आधारमा एफपिओको मूल्य निर्धारण गरिएको बंैकको दाबी छ । 

केन्द्रीय बैंकको निर्देशन अनुसार बैंक तथा बित्तीय संस्थामा कम्तीमा ३० प्रतिशत सेयर स्वामित्व सर्वसाधारणहरुको रहनुपर्नेछ । यही नीति कार्यान्वयनका लागि नेपाल एसबीआई बैंकले प्रिमियम मूूल्यमा एफपीओ गरी सेयर स्वामित्व संरचना मिलाउन लागेको हो । 
हाल यो बैंकमा प्रोमोटर र पब्लिक सेयरधनीको सेयर स्वामित्व ७०.१२ : २९.८८ प्रतिशत रहेको छ । एफपीओपछि यो सेयर स्वामित्व ७०ः३० हुनेछ । हाल यो बैंकमा स्टेट बैंक अफ इण्डियाको ५५.०९ प्रतिशत  र नागरिक लगानी कोषको सेयर स्वामित्व १५.०३ प्रतिशत रहेको छ । 

यसैगरी, यो बैंकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई २८ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ । 

नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ४४ लाख खूद नाफा आर्जन गरेको छ । यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी ३६ दशमलव ४८ रुपैयाँ, नेटवर्थ १ सय ८८ रुपैयाँ ७९ रुपैयाँ रहेको छ । बैंकले ७३ शाखा ,८६ एटिएम तथा ६७८ जना कर्मचारी मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
यो बैंकको हाल चुक्तापूँजी ३ अर्ब ८८ करोड रहेको छ । २८ प्रतिशत बोनस सेयरपछि यसको चुक्तापूँजी ४ अर्ब ९६ करोड पुुग्नेछ । त्यसपछि ६७ हजार कित्ता एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढ्ने छ भने बाँकी प्रिमियम रकम जगेडाकोषमा रहनेछ ।

बैंकले ०७४ असार मसान्तभित्र ८ अर्ब चुक्तापूँजी पुर्याउनुपर्छ । तोकिएको चुक्तापूँजीका लागि यो बैंकले ठूलो परिमाणमा हकप्रद निश्कासन गर्ने संभावना रहेको छ ।