काठमाण्डौ । देशकै टप वाणिज्य बैंकमध्येको एक नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २ अर्ब ३७ करोड खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमो तुलनामा नाफातर्फ यो बैंकले २९.८१ प्रतिशतको प्रगति हासिल गरेको हो ।

बैंकले बुधबार प्रकाशित गरेको बित्तीय विवरणअनुसार अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ८३ करोड नाफा कमाएको यो बैंकले यो वर्ष सोही अवधिमा २ अर्ब ३७ करोड कमाएको हो ।

यो अवधिमा बैंकले १ खर्ब १९ अर्ब निक्षेप संकलन गरी १ खर्ब १ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यो अवधिमा बैंकले १ खर्ब १२ अर्ब निक्षेप संकलन गरी ८४ अर्ब ३७ करोड कर्जा प्रवाह गरेको थियो ।

खुद ब्याज आम्दानीतर्फ पनि बैंकको राम्रो प्रगति छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म २ अर्ब ७० करोड खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष सोही अवधिमा ३ अर्ब ५६ करोड ब्याज आम्दानी गरेको छ ।

अघिल्लो वर्ष २ अर्ब ४३ करोडमा सीमित संचालन मुनाफा समेत बढेर यो वर्ष ३ अर्ब ४५ करोडको उचाईमा पुगेको छ ।

अघिल्लो वर्ष ०.७८ प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जा यो वर्ष घटेर ०.६४ प्रतिशतमा झरेको छ ।

तेश्रो त्रैमाससम्म यो बैंकको चुक्तापुँजी ८ अर्ब ७४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

तेश्रो त्रैमाससम्म यो बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी ३६ रुपैयाँ २४ पैसा, प्रतिसेयर नेटवर्थ २ सय १३ रुपैयाँ ८६ पैसा र मूल्य आम्दानी अनुपात २१.३४ गुणा कायम भएको छ ।