काठमाण्डौ । विश्व बैंकका प्रमुख डेबिड मालपासले कोरोनाभाइरस महामारीका कारण विकासशील देशहरुको कर्जा समस्या बढिरहेकोमा चिन्ता व्यक्त गरेका छन्।

मालपासले जी–२० राष्ट्रहरुका वित्तमन्त्रीहरुका साथ एउटा भर्चुअल मिटिङमा यस्तो चिन्ता प्रकट गरेका हुन्। उनले सबैभन्दा गरिब देशहरुको कर्जाको अवस्था संकटको स्तरमा पुगेको बताए। उनले समूहका देशहरुसँग कर्जा फर्काउने विषयमा पहिले नै तय गरिएको समयसीमा थप एक वर्ष बढाउन आग्रह गरेका छन्। 

बैठकको आयोजना साउदी अरबले गरेको थियो। बैठकमा साउदी अरबका वित्तमन्त्री मोहम्मद अल जदानले यो महामारी विश्वका लागि चुनौती भएको बताए। उनले जी–२० राष्ट्रहरुले यसबाट उत्पन्न आर्थिक संकटसँग छिटो छुट्कारा पाउन मिलेर काम गरिरहेको जानकारी दिए। 

मन्त्री जदानले सन् १९३० मा देखिएको महामन्दीपछि यो महामारीले विश्व अर्थव्यवस्थामा सबैभन्दा धेरै प्रभाव पारेको बताए। ‘जी–२० राष्ट्रले तत्कालै असाधारण कदम उठाउन आवश्यक छ’, उनले भने। – एजेन्सी