काठमाण्डौ । टाटा कम्पनीका विद्युतीय गाडीहरुको विषयमा प्रयोगकर्ताहरुमा राम्रो छवि छैन । टाटाले झूठा विज्ञापनको साहारामा आफ्ना इभी गाडीहरुको प्रचारप्रसार गरेर प्रयोगकर्ता फसाउँदै आएको देखिन्छ । 

टाटाको इभी गाडीमा गम्भीर प्रकृतिका समस्या बग्रेल्ती छन् । ब्याट्रीदेखि ब्याट्री व्यवस्थापन प्रणालीसम्म निकै ठूलो समस्या छ ।

गुणस्तरहीन ब्याट्री प्रयोगका कारण इभीमा आगलागी हुने खतरा त छँदैछ, कम्पनीले दाबी गर्नेभन्दा आधा भन्दा कम मात्र रेञ्ज पाइने हुँदा प्रयोगकर्ताहरुले यो कम्पनीका इभी गाडी किनेपछि पछुताउनुको विकल्प छैन । 

टाटाका इभी गाडी वास्तविक इभी प्ल्याटफर्ममा बनेका गाडी होइनन् । टाटा कम्पनीसँग इभी उत्पादनको विज्ञता पनि छैन ।

जबरजस्ती इभी बनाइएका गाडीहरुले यही कारण भनेजस्तो रेञ्ज दिंदैनन् भने प्रयोगकर्तालाई नसोचेको दुःख हुन्छ ।

हामीले आज यो गाडीको विषयमा आएका प्रयोगकर्ताहरुको रिभ्यूहरुलाई उल्लेख गर्ने कोशिश गरेका छौं । 

नेक्सन इभीका एक भारतीय प्रयोगकर्ताले यो गाडीका कारण आफ्नो जिन्दगी नरकजस्तो बनेको टिप्पणी गरेका छन् । उनले लेखेका छन्–‘मैले सन् २०२१ मे २८ का दिन नेक्सन इभी किनेको । अर्को दिनदेखि मलाई समस्या हुन थाल्यो । पार्क गर्दा ब्याट्री ३०–३५ प्रतिशतले घट्छ। यो छिटो चार्ज पनि थिएन। २५ दिनमध्ये कार करिब १० दिन शोरुममा थियो । यो समस्याका कारण हामीले अनगिन्ती भेटघाट, फोन कल आदिमा हाम्रो मानसिक र शारीरिक ऊर्जा खर्च गरेका छौं। टाटा मोटर्सलाई त्रुटिपूर्ण गाडी बदल्नका लागि सम्पर्क गर्ने प्रयास गरेका छौं, तर प्रत्येक पटक तिनीहरूले केही मर्मत गरेर फिर्ता पठाउँछन्। हामीले यो कार किनेको दिनदेखि नै हाम्रो जीवन नरक बनेको छ। हामी तीन पटक अलपत्र पर्यौं। तिनीहरूको ग्राहक सेवा र प्राविधिक टोलीका मानिसहरूले कल उठाउँदैनन्। हामीले फोन गरिरह्यौं। अन्ततः २ दिन पहिले तिनीहरूले ब्याट्री प्याक प्रतिस्थापन गरे, हामीले सोच्यौं कि हाम्रो समस्या समाप्त भयो तर होइन, यो कारले तपाईलाई शान्तिमा सुत्न दिँदैन। अब नयाँ समस्याहरु सुरु भए । ९५ प्रतिशत ब्याट्रीको साथ पनि, यसको प्रणालीले जीरो ब्याट्री पावर देखाउँछ । प्रणालीले कारलाई लिम्प मोडमा लक गर्यो। हामी कार एक इन्च सार्न सक्दैनौं,स्टेयरिङ ह्वील लक छ। यो कार नकिन्नुहोस्।’

भारतका मात्र होइन, नेपाली प्रयोगकर्ताहरुको पनि टाटाका विद्युतीय गाडी प्रयोगको विषयमा राम्रो अनुभव छैन । सुरेन्द्रराज पराजुली नामको टिकटक आइडीबाट एक प्रयोगकर्ताले एउटा भिडियो पोष्ट गर्दै टाटाको नेक्सन इभीले कुन हदसम्म दुःख दियो भन्ने कुरा उल्लेख गरेका छन् । उनको भिडियोसहितको त्यो टिकटकमा हालसम्म १ हजार २१४ जनाको कमेन्ट आएको छ । अधिकांश कमेन्ट टाटा नेक्सन इभीविरुद्ध छ । कमेन्ट गर्नेमध्ये आधा टाटाकै इभी प्रयोग गरेर हदैसम्मका दुःख पाएका व्यक्तिहरु छन् । उनीहरुले आफ्नो अनुभव खुलेर राखेका छन् । 

पराजुलीले टाटा नेक्सन इभीले दाबी गरेकोभन्दा आधा पनि रेञ्ज नदिएको, बीच बाटोमै चार्ज डाउन भएर अलपत्र पारेको, अलपत्र गाडीलाई डोरी लगाएर तानेर चार्जिङ स्टेशन खोज्दै हिँड्नुपरेको, टाटाको नेपालका लागि आधिकारिक बितरक सिप्रदीले चार्जिङ स्टेशन नबनाउँदा आफूले दुःख पाएको उल्लेख गरेका छन् । उनले भनेका छन्–‘टाटाको नेक्सन इभीले मलाई धुरुक्क रुवायो । यो गाडीको काम रहेनछ ।’

त्यो भिडियोको कमेन्ट गर्दै सिमोन शर्माले लेखेका छन्-'बरु जिन्दगी गाडी चढ्दिन, कहिल्यै टाटा चढ्दिन । २८० लेखेको छ ११४ मा फूलचार्ज खत्तम ।'

म्याजिक नामका टिकटक आइडीबाट कमेन्ट भएको छ-'यति महङ्गो गाडी किन्नुभयो, अब एउटा सानो जेनेरेटर किनेर गाडी पछाडि लिएर हिँड्नु, चार्ज गर्न पाइन्छ ।' 

मोहन थापा लेख्छन्-'टाटा नेक्सनको इलेक्ट्रिक कारको काम छैन ।' 

विकास शर्माले लेखेका छन्-'टाटा नेक्सनको मोह टुट्यो अब । नकिन्ने अब । भो बा, टेन्सन लिन सकिन्न ।' 

बसन्त क्षेत्रीले ब्यंग्य कस्दै लेखेका छन्-'यसमा साइकलको जस्तो पैडल दिएको भए काइदा हुने रैछ बरु ।' 

मोक्तान राजाले अर्को व्यंग्य लेखेका छन्-'अब ब्रो आइडिया दिन्छु । १०–१५ लाख खर्च गरेर ट्याक्टर पनि किन्नू, तानेर हिँड्न काम लाग्छ ।' 

रामचन्द्र पाण्डेले लेखेका छन्-'गाडी किन्नुपर्छ नि, जाबो खेलौना किनेर हुन्छ त ब्रो ।' 

देवेन्द्र महर्जनले लेखेका छन्-'यो गाडीको काम छैन ।' 

लेख कार्की लेख्छन्-'मैले त यही भएर नकिनेको ।' 

शिशिर सुनुवार लेख्छन्-'काम छैन यो गाडी, लुट्ने गाडी हो ।' 

गुरुङ केजी लेख्छन्-'यस्ता इभी लङ ड्राइभका लागि होइनन् । सिटी कारसम्म ठीक होला ।' 

नवीन नगरकोटी लेख्छन्-'यो फ्लप कार हो सरहरु ।' 

अर्का एक प्रयोगकर्ताले लेखेका छन्-'सागसब्जी किन्नुलाई ठीक छ यो गाडी ।' 

सिद्धार्थ श्रेष्ठ लेख्छन्-'टाटाको सानो गाडी सबै कवाडी छ ।' 

एक प्रयोगकर्ताले लेखेका छन्-'फूल चार्जमा कति दिन्छ हजूर?'

टिकटक आइडीबाट उत्तर आएको छ-'सम्म बाटोमा १८० देखि २००, उकालो र ओरालोमा १२५ १५० । उकालोमा १०० देखि १२० सम्म मात्र ।' 

नूर कुँवरले लेखेका छन्-'ब्रो यो इण्डियन गाडीको रियल टाइम रेञ्ज २०० किमी पनि छैन । यो कार लिनु लामो यात्राका लागि गलत निर्णय हो ।' 

आकाश देवकोटाले कमेन्ट गरेका छन्-'कम्पनीले भनेभन्दा ५० प्रतिशत कम रेञ्ज दिन्छ यो गाडीले ।' 

अर्का एक व्यक्तिले लेखेका छन्-'टाटाले सस्तो गाडी भन्दै टियागो ल्याएको छ । धेरै फसिरहेका छन् । बी अलर्ट !' 

टाटा नेक्सन इभी नेपाल नामको फेसबुक ग्रुपमा समेत यसको फिडब्याक राम्रो छैन । शम्भू खनालले लेखेका छन्-'रेञ्जमा त तोरीलाउरे हो टाटा । झूठ बोल्छ ।'

सोही ग्रुपमा दिल थापाले लेखेका छन्-'ब्याटीले बर्बाद पार्छ हजूर ।' 

किशन श्रेष्ठले लेखेका छन्-'चलाएको १६ महिना भयो, कुनै समस्या छैन । तर माइलेज चाहिँ सुरुदेखि नै १२० मात्र दिन्छ।'

अधिकांशले टाटाका इभी गाडीहरुको रेञ्जमा निकै ठूलो समस्या रहेको रिभ्यू दिने गरेका पाइएको छ । 

नेक्सन इभीले ग्राहक ठगेपछि दिल्ली सरकारको कारबाहीमा
टाटाका इभी गाडीहरुको विषयमा कुरा गरिरहँदा २ वर्षअघि भारतको दिल्ली सरकारले नेक्सन इभीका लागि विद्युतीय गाडीहरुलाई दिइने सुविधा तथा अनुदान कटौतिका लागि गरेको निर्णयलाई बिर्सनुहुँदैन । त्यसबेला दिल्लीको केजरीवाल नेतृत्वको आम आद्मी पार्टीको सरकारले नेक्सन इभीलाई वास्तविक इभी नभएको दाबी गर्दै यसले गलत रेञ्जको हवाला दिएर प्रयोगकर्ता ठगी गरेको र यसले वातावरण सुधारमा भूमिका नखेल्ने निश्कर्ष निकाल्दै विद्युतीय गाडीहरुलाई दिंदै आएका कर छुटदेखि विभिन्न अनुदान कटौति गर्ने निर्णय गरेको थियो । दिल्ली सरकारले नेक्सन इभीलाई विद्युतीय गाडीको लिस्टबाटै हटाउने निर्णय पनि भएको थियो । 

दिल्लीको राज्य सरकारले टाटा मोटर्सको इलेक्ट्रिक स्पोर्ट युटिलिटी भेहिकल नेक्सनमा दिइँदै आएको प्रोत्साहनलाई अस्थायी रूपमा हटाएको थियो । ग्राहकहले एकपटकको चार्जमा कम्पनीले दाबी गरेको धेरै किलोमिटर यात्रा गर्न सक्ने क्षमता नभएको उजुरी गरेपछि यस्तो निर्णय भएको बताइएको थियो । 

अरविन्द केजरीवाल नेतृत्वको सरकारले राष्ट्रिय राजधानीमा ग्राहकले लगाएका आरोपहरू हेर्न चार सदस्यीय समिति पनि गठन गरेका थियो । 

यातायात विभागले जारी गरेको विज्ञप्ति अनुसार डिसेम्बर ३, २०२० मा कार खरिद गरेका राजेश कुमारले नेक्सन ईभीको प्रमाणित दायरा ३१२ किलोमिटर रहेको तर अनरोड अवस्थामा २०० किलोमिटरभन्दा बढी चल्न सक्ने भन्दै उजुरी दर्ता गराएका थिए । 

२०२० मा दिल्ली सरकारले राष्ट्रिय राजधानीमा सवारी प्रदूषणलाई कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन नयाँ नीति ल्यायो। नीतिको एक भागको रूपमा राज्य सरकारले विद्युतीय यात्रुवाहक सवारी साधनको पहिलो १००० ग्राहकलाई १.५ लाख भारुमा सीमित गरिएको इलेक्ट्रिक चार पाङ्ग्रे सवारीको लिथियम आयन ब्याट्रीमा प्रति किलोवाट भारु १० हजार अनुदान उपलब्ध गराउँदै आएको थियो। 

राज्य सरकारले त्यस्ता शून्य उत्सर्जन सवारी साधनहरूको लागि सडक कर र दर्ता शुल्क हटाउने निर्णय पनि गरेको थियो । 

यी सबै सुविधाबाट टाटाको नेक्सन इभीलाई डिलिस्ट गरिएको थियो । तर, पछि टाटा कम्पनीले हाई कोर्टको सहारा लिनुपरेको थियो ।