काठमाण्डौ । नेपालमा अहिले बैंकहरुको ‘बिग मर्जर’को लहर चलिरहेको छ। 

बिग मर्जरअन्तर्गत केहीले मर्जर प्रक्रिया टुंग्याएर एकीकृत कारोबार सुरु गरिसकेका छन् भने केहीले एकीकृत कारोबारको तयारी गरिरहेका छन्। केही बैंकहरु भने अझै पनि केन्द्रीय बैंकबाट मर्जरको सैद्धान्तिक र अन्तिम स्वीकृतिको पर्खाइमा छन्। केही अझै मर्जरका लागि प्रारम्भिक समझदारीका लागि पहल गरिरहेका छन्। 

बैंकहरुबीचको मर्जरमा अहिले कर्मचारी र शाखाको समायोजनसँगै व्यवस्थापन टोली र सञ्चालक समितिमा रहने पदाधिकारी तथा सेयर स्वाप रेसियोका  विषयमा सहमति जुट्न निकै सकस पर्ने गरेको देखिन्छ। कतिपय अवस्थामा यिनै विषयमा जुट्न नसक्दा मर्जर प्रक्रियाहरु भाँडिने गरेका धेरै उदाहरण पनि छन्।   

यसैबीच मर्जर र आउटसोर्सिङका कारण छिमेकी मुलुक भारतको बैंकिङ क्षेत्रमा रोजगारीमा परेको प्रभावको नयाँ चित्र बाहिर आएको छ। 

पछिल्लो ५ वर्षमा भारतका सरकारी बैंकहरुमा ५० हजारभन्दा बढी कर्मचारी घटेका छन् भने निजी बैंकमा सोही अवधिमा १ लाख १३ हजार कर्मचारी बढेका छन्। 

अखिल भारतीय बैंक कर्मचारी संघको एउटा प्रतिवेदनअनुसार २०१८ मा २१ वटा सरकारी बैंकमा कुल ८.४४ लाख कर्मचारी थिए। यो संख्या २०२२ मा ७.९४ लाखमा झरेको छ।

यो अवधिमा देशको सबैभन्दा ठूलो बैंक एसबीआईमा सबैभन्दा बढी १९ हजार ७ सय ९१ कर्मचारीले रोजगारी गुमाएका छन्। त्यहाँ कर्मचारीको संख्या २.६४ लाखबाट घटेर २.४४ लाखमा झरेको छ। 

सन् २०१८ मा २१ निजी बैंकमा ४.२० लाख कर्मचारी थिए। जब कि २०२१ मा उनीहरुको संख्या बढेर ५.३४ लाख पुगेको छ।

संघका अनुसार केही निजी बैंकले मात्रै सन् २०२२ को तथ्यांक उपलब्ध गराएका छन्। यसमा निजी क्षेत्रको सबैभन्दा ठूलो एचडीएफसी बैंकमा करिब २१ हजार र एक्सिस बैंकमा साढे ७ हजारले कर्मचारीको संख्या बढेको छ। 

भ्वाइस अफ बैंकिङका संस्थापक अश्विनी राणाका अनुसार सरकारी बैंकको निजीकरण र आउटसोर्सिङका कारण आगामी दिनमा कर्मचारी थप घट्न सक्छ। 

यो अवधिमा भारतमा केन्द्रीय बैंकले आधा दर्जन बैंक मर्जर गरेको छ। जसका कारण मर्ज भएका बैंकको कुनै पनि शाखा नजिक रहेका अन्य शाखा बन्द भएका छन्। शाखा घट्दा कर्मचारी संख्या पनि घटेको छ।

त्यसैगरी बैंकहरुले लागत घटाउन आउटसोर्सिङ गरिरहेका छन्। अर्थात सुरक्षागार्ड, सरसफाइ कर्मचारी र क्लर्कजस्ता कर्मचारीलाई आउटसोर्सबाट भर्ना गरिएको छ। 

जुन बैंक निजीकरण गरिँदैछ, तिनीहरुको घाटामा चलिरहेका शाखाहरु बन्द गरिँदैछ। यो अवधिमा भारतको केन्द्रीय बैंकले बैंकहरुका ६०० वटा शाखा बन्द गर्ने भएको छ। जसका कारण कर्मचारी पनि घट्नेछन्। –एजेन्सीको सहयोगमा