– रेखा चन्द

काठमाण्डौ । वाणिज्य बैंकको संख्या २१ मा झरेको छ। आजबाट हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार भएसँगै वाणिज्य बैंकहरुको संख्या २१ मा झरेको हो। 

मुलुकमा २०६९ को असार मसान्तसम्ममा ३२ वटा वाणिज्य बैंकहरु सञ्चालनमा थिए। पछिल्लो १० वर्षको अवधिमा यो संख्या घटेर २१ मा कायम भएको छ। 

राष्ट्र बैंकले लिएको ‘बिग मर्जर’ को नीतिका कारण हालसम्म आउँदा ११ वाणिज्य बैंकको अस्तित्व सकिएको छ। लक्ष्मी र सनराइज बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भइसकेको छ। यी दुई बैंकले चालु आर्थिक वर्षभित्रै एकीकृत कारोबार गर्ने गरी प्रारम्भिक सम्झौता गरेका थिए।

चालु आर्थिक वर्षको पुसमा मात्र ८ बैंक र फागुनमा २ बैंकहरु एकआपसमा प्राप्ति तथा एक्विजिसन प्रक्रियामा गएर एकीकृत कारोबार गरेको थिए भने गत असारमा तत्कालीन नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी नबिलले कारोबार सुरु गरेको थियो।

पुँजी बढाएर संस्था बलियो बनाउने तथा सञ्चालन खर्चमासमेत कमी आउने उद्देश्यले राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाको संख्या घटाउँदै लैजाने नीति लिएको हो। राष्ट्र बैंकको एक प्रतिवेदनले नेपालमा ११ देखि १५ वटासम्म वाणिज्य बैंक भए उपयुक्त हुने देखाएको थियो।

सोहीअनुसार राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन गर्न विभिन्न छुट सुविधासमेत ल्याएको थियो। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मर्जर सुविधालाई लम्ब्याएर पुस मसान्तसम्म मर्जर तथा प्राप्तिमा गई एकीकृत कारोबार गर्ने बैंकलाई छुट सुविधा दिइने बताएको थियो। जसमा ८ वाणिज्य बैंक मर्जरमा गई कायम भएका ४ वटा बैंकले राष्ट्र बैंकले दिएको छुट सुविधा पाएका छन्। 

वाणिज्य बैंकको संख्या २१ मा झर्दा राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या एउटा साइजमा आइसकेको महसुुुस गरेको छ। १५ वटासम्म वाणिज्य बैंक चाहिन्छ भनिए पनि २१ वटासम्म आउँदा वाणिज्य बैंकहरुको संख्या एउटा साइजमा आइसकेको राष्ट्र बैंकका एक अधिकारी बताउँछन्। 

 मेटियो ११ वाणिज्य बैंकको अस्तित्व

मर्जर वा एक्विजिसन प्रक्रिया जाँदा हालसम्म ११ वाणिज्य बैंकको अस्तित्व मेटिएको छ। बैंकहरुको पुँजी बढाइ जोखिम बहन गर्न सक्ने क्षमता बढाएर सबल र सक्षम बैंक बनाउने राष्ट्र बैंक नीतिअनुरुप २०६९ यता विभिन्न बैंक आपसमा मर्जर तथा प्राप्तिमा गएका छन्। फस्वरुपराष्ट्र बैैंकको प्रतिवेदननजिक वाणिज्य बैंकको संख्या पुग्न थालेको हो।

कमर्ज एन्ड ट्रस्ट बैंक, किस्ट बैंक, ग्रान्ड बैंक, नेपाल बंगलादेश बैंक, जनता बैंक, बैंक अफ एसिया, बैंक अफ काठमान्डू, सेञ्चुरी बैंक, मेगा बैंक, एनसीसी बैंक र सिभिल बैंकको अस्तित्व मेटिएको हो। 

ग्लोबल आइएमई बैंकले २०७० चैतमा कमर्ज एन्ड ट्रस्ट बैंक र २०७६ मंसिरमा जनता बैंकलाई गाभेर एकीकृत कारोबार गरेको थियो। २०७० असारमा एनआईसी बैंक र बैंक अफ एसिया गाभिएर एनआईसी एसिया बैंक बनेको थियो। 

यस्तै प्रभु बैंकले २०७१ भदौमा किस्ट बैंक र २०७२ फागुनमा ग्रान्ड बैंकलाई प्राप्ति गरी एकीकृत कारोबारको थालनी गरेको थियो भने सेन्चुरी बैंकलाई गाभेर गत पुुस २६ गतेदेखि एकीकृत कारोबार गरेको थियो।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेर गत असारबाट एकीकृत कारोबार सुरु गरिसकेको छ। 

त्यसैगरी कुमारी बैंक र एनसिसी बैंक आपसमा गाभिएर कुमारी बैंकको नामबाट पुस १७ गतेदेखि एकीकृत कारोबार भइरहेको छ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू आपसमा गाभिएर ग्लोबल आइएमई बैंकको नामबाट पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु भइसकेको छ। मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक आपसमा गाभिएर पुस २७ गतेबाट नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार भइरहेको छ।