काठमाण्डौ । नेपालका सेलिब्रेटी बैंकर तथा नवील बैंक लिमीटेडका सीइओ अनिलकेशरी शाह त्यस्ता छोरा हुन्, जसले आफ्नी आँटिली आमाकै कारण महिला–पुरुषबीचको भिन्नताको भ्रम त्यागिदिए । 

आफ्नी आमा जत्तिको आँट, साहा र कुशल व्यवस्थापकीय क्षमता भएको महिला उनले जीवनमा कमै मात्र देखेका छन् । 

उनकी आमा ८४ वर्षीया विन्देश्वरी शाह नेपालबाट अमेरिकामा गएर ब्याचलर्स र मास्टर्ससम्मको अध्ययन पूरा गर्ने पहिलो नेपाली महिला समेत हुन् ।

त्यति मात्र होइन, भारतका लागि नेपालको राजदूत भइसकेकी उनी त्यो ओहोदामा पुग्ने पहिलो नेपाली महिला समेत हुन् । 

सम्भ्रान्त परिवारकी छोरी तथा बुहारी बिन्देश्वरीले आफ्नो करिअरसँगै दुई छोराहरुको हेरचाहमा पनि कुनै कसर बाँकी राखिनन् । अनिल र उनका भाईले आमाको जागिर विभिन्न देशमा सरुवा भइरहने कारणले स्कूले जीवनमा मात्रै ९ वटा स्कूल परिवर्तन गर्नुपरेको थियो। 

उदाहरणीय आमा विन्देश्वरीको छहारीमा न्यानो जीवन बाँचिरहेका अनिलले पनि बिजशालासँग आफ्नी आमासँगको बाल्यकाल,सुख र दुःखका क्षणहरु सेयर गरेका छन्। बाँकी उनकै शब्दमा:

विन्देश्वरी शाह भनेको नेपालको पहिलो महिला हो, जसले अमेरिकामा गएर ब्याचलर्स गर्नुभयो। देशकै पहिलो महिला होला, जसले अमेरिकाबाटै मास्टर्स गर्नुभयो । अनि भारतका लागि पहिलो महिला नेपाली राजदूत पनि बन्नुभयो । 

त्यही भएर मैले जन्मेदेखि धेरै पछिसम्मै सबै महिला मेरो मुवा जस्तै होलान् जस्तो सोच्थेँ, तर त्यो होइन रहेछ । 

त्यसबेला मेरो बुवा र मुवा नै अफिस जानुहुन्थ्यो । मुवा परराष्ट्रमा हुनुहुन्थ्यो भने बुवा डब्ल्यूएचओमा डक्टर हुनुहुन्थ्यो। दुवैजनाको काम हुन्थ्यो । 

म र मेरो भाई दुवैजनाले बाल्यकालबाटै सबै महिला यस्तै हुन्छन् होला भन्ने सोच्थ्यौं । धेरै पछि गएर मात्र थाहा पायौं कि हामीले सोच्ने गरेको कुरा होइन रहेछ । संसारले नै महिला र पुरुषलाई भिन्न आँखाले हेर्दो रहेछ । महिलाहरु चाहि मेरो मुवाजस्तो आँट भएको, बाहिर गएर परिवार पालेर काम गर्ने चाहि कमै हुँदा रहेछन् भन्ने कुरा बुझेँ ।

कसैले मलाई मुवा भन्नेबित्तिकै माया र करुणाको खानी याद आउँछ, त्योसँगै प्रेरणा पनि आउँछ । र, मुवा भनेर सम्झिँदा एउटा शक्तिशाली व्यक्ति, दुर्गाको रुप आउँछ । किनभने मैले मेरो मुवालाई त्यस्तै देखेको छु । उहाँले दुईवटा छोरालाई पनि हेर्नुहुन्थ्यो, आफ्नो करिअरलाई पनि हेर्नुहुन्थ्यो, डिप्लोम्याटिक सर्कलमा एउटा रेपुटेसन पनि बनाउनु भएकै थियो, यी सबै काम एकसाथ गर्न सजिलो थिएन । 

बाहिर गएर काम गर्नैपर्ने आर्थिक स्थिति हाम्रो होइन । मुवाले ‘ठीकै छ नि त, म घरै बसेर छोराहरु हेर्छु’ भन्नु भएको थियो भने पनि मलाई लाग्छ, मेरो हजूरबुबा हजुरआमा वा बुवाले ‘हैन तिमी काम गर’ भनेर भन्नु हुने थिएन । वा ‘तिमीले काम गरेनौ भने चुल्हो कसरी बल्छ ?’ ‘बच्चालाई कसरी पढाउने ?’ भन्ने खालको अवस्था पनि थिएन । त्यही भएर उहाँले ‘म गर्छु, मेरो जिन्दगीमा म आमा पनि हुँ, श्रीमती पनि हुँ, कसैको बुहारी पनि हुँ र म बिन्देश्वरी शाह पनि हुँ है’ भनेर अगाडि बढ्नुभयो । ‘मेरो आफ्नै अस्तित्व र पहिचान छ’ भनेर उहाँ अगाडि बढ्नुभयो । 

बाल्यकालदेखि आजसम्म मेरो मुवालाई देखेँ । मेरो एउटा छोरी छिन्, मलाई धेरैले पहिला भन्थे–तिमीलाई छोरा चाहिदैन ? विन्देश्वरी शाहजस्तो मेरो मुवा नभइदिएको भए मलाई पनि छोरा चाहिन्छ कि भन्ने लाग्न सक्थ्यो होला, तर मलाई अलिकति पनि चिसोपन छैन । किनभने मेरो मुवाको छायाँ मात्र मेरो छोरी भयो भने पनि मेरो छोरी गज्जबको हुन्छ । त्यही भएर म धेरै पटक भन्छु नि, मलाई मेरो नेपाल सिंगापुर र स्वीट्जरल्याण्ड जस्तो होइन,  नेपाल नेपालजस्तै चाहिएको छ। त्यस्तै मेरो छोरी छोराजस्तो होइन, छोरीजस्तै चाहिएको छ, मेरो मुवा जस्तै चाहिएको छ। 

मुवासँग विशेष क्षण
मुवा बंगलादेशको इण्डीपेन्डेस भइसकेपछि त्यहाँ दूतावास स्थापना गर्न श्री ५ को सरकारले उहाँलाई त्यहाँ पठाएको थियो । सो क्रममा म, भाई र मुवा नै त्यहाँ गयौं, त्यसबेला बुवाको पोस्टिङ दिल्लीमा भएको थियो । र, त्यो बेलामा बंगलादेश क्रान्तिको फेजमै थियो, त्यस्तो बेलामा समेत एउटा महिलाले दुईवटा छोरा बोकेर, त्यो ठाउँमा गएर राजदूतावास स्थापनाको कामसँगै छोराहरुको स्कूलदेखि लिएर, उनीहरुको सुरक्षादेखि लिएर त्यो सबै व्यवस्थापन गर्नुभएको थियो। अहिले विचार गर्दा म त्यो ठाउँ थिएँ भने गर्न सक्थेँ हुँला ?जस्तो लाग्छ । म त्यसबेला ६ वर्षको थिएँ, भाई ४ वर्षको थियो । त्यो पल निकै याद आउँछ ।  

बंगलादेशको राजनीतिक अवस्था खराब भई असुरक्षाको अवस्था भएपछि हामीलाई रातारात त्यहाँबाट नेपाल पठाइयो । त्यस्तो अवस्था पनि मुवाले एक्लै सम्हाल्नुभयो । त्यही भएर मैले अघि नै भनेँ नि: म चाहि पुरुष र महिलामा फरक नै देख्दिँन । यसको कारण मेरो मुवा पनि हुनुहुन्छ । 

मेरो मुवा भएपछि म र मेरो भाईलाई कहिल्यै पनि डर भन्ने अनुभूत नै भएन। 

बोर्डिङ स्कूलमा बसेर भाई र म पढ्थ्यौं । बुबा भेट्न आउँदा आफ्नै खालको मज्जा हुन्थ्यो । मुवा सवारी हुँदा चकलेट, खाना, थुप्रै चिज आउँछ भनेर दुवै दाजुभाई दङ्ग हुन्थ्यौं । त्यो पल धेरै सम्झिन्छु । 

र, मेरो अमेरिकाको जर्ज वासिङ्टन युनिभर्सिटीमा ग्राजुएसन हुँदा मुवा सवारी हुनुभएको थियो । म ग्राजुएट भएर बाहिर निस्किँदा मेरो मुवाको आँखामा मैले गर्वको महसुस भएको देखेँ, जुन कुरा म कहिल्यै बिर्सन्नँ । 

मुवा र बुवाले हाम्रा(सन्तान)का लागि जहिल्यै गर्नुहुन्छ । तर,कहिलेकाही हामीले उहाँहरुका लागि केही गरिदिँदा उहाँहरु कति खुशी हुनुहुँदो रहेछ भन्ने कुरा त्यो बेला मलाई महसुस भयो। 

मुवासँगै खुशी भएको वा सँगै रोएको पल
धेरै खुशी भएका धेरै पलहरु छन् । घुम्न गएका धेरै क्षणहरु छन् । मेरो भाईको ४२ वर्षको उमेरमा देहान्त भयो, अमेरिकामा थियो, हृदयघात भयो उसलाई । त्यसबेला चाहि मुटु नै छिया छिया भयो हाम्रो । हामी धेरै रोयौं । त्यो घटनाले मुवालाई धेरै परिवर्तन गरिदियो । आफूभन्दा कान्छोको त्यस्तो घटना सहन धेरै गाह्रो हुँदोरहेछ । त्यो बेला मुवा र मेरो आत्मा मात्र रोएन, आँखाबाट आँसु मात्र आएन, हरेक अंगबाट केही न केही मरेको जस्तो भएको थियो। बुवाको देहान्त पनि गाह्रो थियो, तर भाईको जस्तो भएन। भाई गुमाउँदाको त्यो क्षण सबैभन्दा कालो थियो। 

मेरो छोरी जन्मिएपछि डाक्टरले बाहिर निकालेर देखाए, मुवा र बुवा पनि सँगै हुनुहुन्थ्यो । सबै थियौं हामी । उहाँलाई पहिलादेखि नै पीर थियो कि हामी दाजुभाई थियौं, छोरी थिएन । मेरो छोरी भएपछि छोरीलाई बोकेर मुवाले भन्नुभयो–‘तिमीले छोरी पायौं, म जत्तिको खुशी अरु कोही छैन होला । किनभने बल्ल मैले पनि नातिनी पाएँ । म अहिले पनि भन्छु, तिमीले तिम्रो छोरीसँग जे गर्नुछ गर, तर मेरो नातिनीलाई पुतली र भाडाकँुडा मात्र ल्याउने होइन, डाक्टर र इञ्जिनियरको सेट पनि लिएर आउने हो । भोलि गएर ऊ जे र जस्तो बन्न चाहन्छ, त्यो बन्ने मौका दिनु है’ भन्नुभएको थियो। त्यो खुशीको क्षण म कहिल्यै पनि बिर्सन्नँ । 

करिअरमा दवाब थिएन
मेरो मुवा र बुबाले कहिल्यै पनि तिमीहरु यस्तो बन्नुपर्छ, डाक्टर वा इञ्जिनियर नै हुनुपर्छ भन्नुभएन। हामीले जिन्दगीमा त्यही काम मात्र गर्नुपर्छ, जुन हामीले राम्रोसँग गर्नसक्छौ । हामीले जुन काम गर्दा, जुन बाटोमा जिन्दगीलाई लिएर जाँदा हामी खुशी हुन्छौ, यो शिक्षा मैले मेरो बुवा र मुवाबाट पाएको हुँ। उहाँहरुले पढाई वा करिअरको विषयमा कहिल्यै दवाब दिनुभएन। त्यही भएर मैले विजिनेश पढँे, भाई इञ्जिनियर भयो, मुवा राष्ट्रसेवक कर्मचारी र बुवा मेडिकल डक्टर हुनुहुन्थ्यो । 

म सबैलाई आग्रह गर्छु, राम्रो अभिभावक हुने हो भने बच्चालाई यही मात्र बाटोमा हिँड भनेर बाटो नदेखाउनुहोस्, जुन बाटोमा ऊ हिँड्न चाहन्छ, त्यसमै हिँड्न प्रोत्साहन गर्नुहोस् । अनि त्यसपछि बच्चा पनि खुशी हुन्छ,आफू पनि खुशी भइन्छ । 

नत्र भने म बैंकर मेरो छोरी पनि बैंकर नै हुनुपर्छ, ‘खाए खा, नखाए घिच्’ गर्न थालियो भने ऊ पनि खुशी र सक्षम हुँदैन र त्यसले परिवारकै जिन्दगीमा दुःख ल्याइदिन्छ ।

मुवाका लागि गर्न नसकेको काम........
मैले मुवालाई दिन नसकेको नै समयहो । मैले बढी समय दिनुपर्ने हो, त्यो समय दिन सक्दिँन,सकिरहेको छैन । मलाई समय मिलाउन साह्रै गाह्रो छ । बैंकको यत्रो काम छ । तर सकेसम्म समय मिलाउँछु ।

समयको क्वान्टिटी भन्दा पनि क्वालिटीमा विश्वास गर्न थालेको छु । बढी समय दिने, तर उही कोठामा बस्ने, उही घरमा बस्ने, मुवा टिभी हेर्ने, म अखबार पढ्ने, अब त्यो होइन । जुन समय हामी सँगै हुन्छौ, त्योबेला साच्चिकै सँगै हुनुपर्छ, त्यो अनुभूत हुनुपर्छ । तनमन धन सबै कुराले सँगै हुन्छौ। त्यतातिर फोकस गर्नुपर्छ। जुन टाइम सँगै बिताउँछौ, त्यो समय साच्चिकै यादगार होस् भन्नेतिर लागेको छु । 

मुवाबाट सरेको बानी(गुण)
आत्मविश्वास । मुवाबाटै आएको हो यो विशेषता ममा । किनभने त्योबेला मेरो मामली देशनिकाला भएको थियो। इण्डियामा पढी अमेरिकामा पुगेर उच्च शिक्षा हासिल गरी नेपाल आई लोकसेवा दिएर परराष्ट्रमा पहिलो नेपाली महिलाको रुपमा प्रवेश पाउने त्यो सफलता आत्मविश्वासले नै संभव भएको थियो। त्यो गुण अलि अलि ममा पनि आएको छ जस्तो लाग्छ । 

कहिलेकाही कुनै काम गर्दा मलाई सक्दिँन कि भन्ने लाग्दा समेत आमाले गर्नुभएको संघर्षको कुरा सम्झिएपछि ममा एकाएक आँट आउँछ । आमाले कस्तो कस्तो कठिनाईपूर्ण अवस्थालाई ट्याकल गर्नुभएको थियो, म चाहि किन डराउने ? भन्ने लाग्छ । मेरो मनोबललाई बलियो बनाउने मुवा नै हो। 

मुवाबाट सिकेको जीवनमन्त्र
कुनै पनि अवस्था वा जीवनको मोडहरुलाई सकारात्मक र नकारात्मक रुपले हेर्न सक्छौ । म र मेरो भाई ९ वटा स्कूलमा गयौं, हामीले नकारात्मक रुपले हेर्ने हो भने यति धेरै स्कूलमा गयौं, हामी के पढ्न सक्छौ र ? भन्ने सोच्थ्यौं होला । तर, हामीले त्यसरी लिएनौ, हरेक २–३ वर्षमा नयाँ शहर, नयाँ स्कूल, नयाँ साथी ! यस्तो अवसर कसले पाउँछ र ? भनेर सकारात्मक रुपमा लियौं र त्यसबाट परिवर्तनप्रति हाम्रो दृष्टिकोण नै फरक भयो । 

त्यसकारण मुवाबाट सिकेको चाहि यस्तो मोडमा आउँदा सकारात्मक रुपले सोच्नुपर्छ भन्ने हो । किनभने नकारात्मक रुपले सोच्यो भने तिमी तल मात्र गइराख्छौ । सकारात्मक रुपले सोच्यो भने तिमीलाई पहिला केही गाह्रो होला, तर माथि मात्रै जान्छौ । त्यही भएर धेरै मान्छेले मलाई भन्छन्: तपाईको सोंच त एकदमै सकारात्मक छ भनेर, सकारात्मक सोंचको बिज चाहि मेरो आत्मामा मेरो मुवाले रोपिदिनु भएको हो। 

मुवाबिनाको जीवन........!
मुवाबिनाको जीवन खालि हुनेछ, शून्य शून्य हुनेछ । आर्थिक र सामाजिक रुपमा म अहिले मजबुत छु होला, त्यसको जरा भनेको मेरो मुवा हो । बुवाको छत्रछायाँ गुमिसकेको छ, अब मुवाको मात्र बाँकी छ । छत्रछायाँ भन्ने कुरा धेरै नै ठूलो कुरा रहेछ । त्यो छत्रछायाँ छ भनेपछि झनै मनोबल र आँट बढ्ने रहेछ। म अझै गर्नसक्छु जस्तो लाग्छ । 

कुनै समस्या आयो भने समाधान गर्नसक्छु भन्ने लाग्छ, ममा मुवाको आशिर्वाद छ, प्रेम छ नि, गुड विसेस छ नि भन्ने हुँदो रहेछ । त्यसकारण मुवाबिनाको जीवन खालि खालि हुनेछ ।

समाज र आमा
हाम्रो समाज र हामी धेरै इकोनोमिक वेल्थमा केन्द्रीत भइरहेका छौ। कसैले पनि सोध्दैन, पैसा कसरी कमाइस भनेर । कसैले १ करोड रुपैयाँ घर लिएर आयो, उसको श्रीमती, बुवामुमा, बच्चा कसैले सोध्दैन कि यो पैसा कहाँबाट आयो ? एककरोड रुपैयाँ आयो, अब घर राम्रो बनाउने, यो गर्ने, त्यो गर्ने भन्नेतिर लाग्छन । त्यो पैसा चोरी गरेर ल्याएको होस्, वा घूसखाएर होस्, वा चेलीबेटी बेचेर ल्याएको होस् । करोड त आयो नि भन्नेमा मात्र मान्छेको ध्यान जान थालेको छ ।

मुवाबुवाप्रति मात्र होइन, सिनियर प्रतिको लगाव र सम्मान नै छैन । अहिले लगाव भनेको धनप्रति मात्र छ । युवा मानिसहरुले ठूलो मोटर, वालेटको साइज हेर्न थाले, बाटोमा हिँडिरहेको सिनियरहरुलाई गन्न छाडिसके । यो हाम्रो समाज नै होइन, यो नेपालीपना होइन । मैले रेष्टुरेन्टमा खाइरहेको छु र मेरो बुवाको उमेरको मान्छेले खाना ल्याइरहेको छ भने उहाँको आँखामा आँखा राखेर ‘धन्यवाद है बा’ भन्न किन सक्दैनौ ? त्यति भन्दैमा सानो मान्छे भइन्छ र ? त्यो सदाशयताको कमी छ । 

त्यही भएर आफ्नै बुबाआमालाई पनि धेरैले माया गर्न छाडेका देखिन्छ, सुनिन्छ ।

म सबैजनालाई भन्छु, पैसाले ठूलो घर, मोटर, राम्रो लुगा, फोन किनिएला, तर जुन माया आमा र बुवाबाट पाइन्छ, त्यो कुनै रुपैयाँसँग तुलना हुनैसक्दैन । त्यो अतुलनीय हुन्छ, तर सधैं हुँदैन । जस्तो मेरा बुवा हुनुहुन्न, मुवा मात्र हुनुहुन्छ । 

जुन समय सँगै छौ, त्यसलाई सदुपयोग गरौं । 

हामी जन्मिन नसक्दा उहाँलाई कति कस्ट भयो होला ?त्यो कस्टलाई हाँसी–हाँसी टारिदिनुभयो । यही कुरा सम्झिएर पनि मुवाबुवालाई त्यही प्रेम दिनुपर्छ जस्तो लाग्छ । 

म सबै नेपालीलाई भन्न चाहन्छु । बुद्ध नेपालमा जन्मिएका हौं भनेर हामी गर्व गर्छौ । बुद्धको जन्म पनि त आमाको कोखबाट हो नि । लुम्बिनीमा गएर हेर्नुभयो भने बुद्ध जन्मिएको ठाउँ भनेर मायादेवीको मन्दिरमा जान्छौ। मायादेवी भनेको बुद्धको आमा हो । आमाको मुख हेर्ने दिन कमसेकम हामीले सम्झनुपर्छ कि बुद्ध जन्मिएको ठाउँमा हाम्रो पनि जन्म भएको छ । अनि बुद्धलाई मायादेवीले जन्माउनुभएको थियो भन्ने कुरा पनि नभूलौं । मायादेवी पनि नेपाली आमा नै हुनुहुन्थ्यो, हाम्रो मुवालाई पनि त्यही रुपमा देखेर अगाडि बढ्न सकियो भने सबै सुखी, खुशी भइन्छ जस्तो लाग्छ ।

(कुराकानीमा आधारित)