-पर्शुराम कुँवर क्षेत्री-प्रमुख कार्यकारी अधिकृत(जनता बैंक नेपाल लिमीटेड)
नेपाल बैंकर्स संघले एकवर्षे मुद्धतीमा ११ प्रतिशत र साधारण बचतमा ८ प्रतिशत ब्याजदर दिने बिषयमा गरेको भद्र सहमतिलाई कतिपयले कार्टेलिङ भने । यस्तो फतुर राम्रो गर्न खोज्नेहरुमाथि नलगाएकै भए राम्रो हुन्थ्यो । कार्टेलिङ भनेको नाफा कमाउनका लागि गरिने गतिविधि हो । हामीले यो सहमति नाफा बढाउनका लागि गरेको हुँदै होइन । हामीले ब्याजदर कतिसम्म बढाउँदै जाने ? ब्याज बढाएर नयाँ निक्षेप आउने पनि होइन । अर्काको तानेर ल्याउने हो, उल्टो लागत मात्र बढ्छ ।
हाम्रा ग्राहक निक्षेपकर्ता र ऋणी दुवै हुन्, निक्षेपकर्तालाई मात्र हित हुने काम बैंकहरुले गर्नुभएन ।
तपाईले होम लोन लिनुुभएको छ भने ब्याज बढेपछि हामी होमलोनको ब्याज पनि बढाइदिन्छौ । यस्तो अवस्थामा तपाईको तलब त बढ्दैन होला । ८ प्रतिशतमा दिएको डिपोजिट ११ प्रतिशतमा नवीकरण भयो, अब लोनको पनि बढाउनुुपर्यो भनेर म तपाईलाई बढाइदिउँला । हाम्रो त हरेक दिन फिक्स्ड डिपोजिट परिपक्व भइरहेको छ र ११ प्रतिशतमा नवीकरण पनि भइरहेको छ । अनि यो अप्ठ्यारो अवस्थालाई किन कसैले नबुुझेको ?
अर्कोतर्फ, यो बीचमा सेभिङ डिपोजिट पनि फिक्स्ड डिपोजिटमा कन्भर्ट हुँदै गएको छ । राष्ट्रबैंकको तथ्याङ्क हेर्दा यो कुरा अझ प्रष्ट हुन्छ । केही महिनाअघि कुल डिपोजिटमा सेभिङ कति थियो र फिक्स्डको हिस्सा कति थियो, तथ्यांकले प्रष्ट पार्छ । यसकारण यस्तो अन्यौल भयो भने डिफल्ट नै बढ्ने हो, तपाईले लोन तिर्न नसकेपछि डिफल्ट गर्नुहुन्छ । तपाईको आम्दानी त बढेको छैन । यसले अर्थतन्त्रलाई धान्छ त ? यिनै कुराहरुलाई बिचार गरेर ११ र ८ को सीमा तोकिएको हो । भयङ्कर नाफा कमाउने योजनाले यस्तो काम गरिएको होइन ।
मलाई दुःख लागेको कुरा, अन्य क्षेत्रमा हुने कार्टेलिङसँग तुलना गरेर बैंकरहरुलाई आक्षेप लगाउने काम भयो, यो राम्रो भएन । कि त ‘२०–२५ जति पुुगे पनि तिमीहरु चूप लागेर बस’ भन्नुपर्यो, होइन भने हामीलाई हाम्रो जिम्मेवारी पूरा गर्न दिनुपर्छ ।
राष्ट्रबैंक छ, अर्थमन्त्रालय छ, सरकार छ, उहाँहरुले गर्ने ठाउँमा गरिराख्नुुभएको छ । पुनरकर्जा दिइराख्नुु भएकै छ । बजारमा तरलता कसरी ल्याउने भन्ने बिषयमा पनि उहाँहरुले सोचिराख्नुुभएको कुरा बाहिर आएको छ । उहाँहरुले आफ्नो तवरबाट गर्नुहुन्छ । अनि हामीले पनि त आफ्नो तर्फबाट केही न केही त गर्नुपर्ला नि ! नियम र निर्देशनको परिधिभित्र त बस्नुपर्ला नि त । यही आशयले भनेको कुरालाई अरुले गरेको कार्टेलिङ र अझ यातायातमा भएको जस्तो कार्टेलिङसँग जोडेर व्याख्या गरी हामीलाई निराश बनाउने काम भयो ।
मेरो विचारमा एकवर्षे मुद्धती निक्षेपमा ११ प्रतिशत पनि बढी हो । ४ प्रतिशतको हाराहारीमा इन्फ्लेसन भएको देशमा ११ प्रतिशत धेरै भयो । पहिला हामी ७–८ प्रतिशतसम्म दिन्थ्यौं, बढ्दै बढ्दै १३–१४ प्रतिशतसम्म पुुग्यो । यहीकारण हामीले नियन्त्रण गर्न ११ गरेका हौ । हामीले यसलाई तत्काल १० वा ९ मा पनि झार्न सकेनौ । १३ प्रतिशतसम्म बैंकहरुले दिएका थिए । १३ प्रतिशतमा दिंदा लोनमा हामीले १७ प्रतिशतसम्म चार्ज गर्नुपथ्र्यो होला । त्यो कसैले धान्न सक्थ्यो ?
हामी बैंकहरुबीचमा ११ प्रतिशत पनि बढी भयो भनेर बहस नभएको होइन । केही साथीहरुले १० गरौं भन्नुुभयो, कतिपयले १२ गरौं पनि भन्नुुभयो । १० र १२ को बहस बढी घनिभूत भएपछि बीचको बिन्दू ११ मा हामीले भद्र सहमति गरेका हौ ।
म त भन्छु, यदि सकिन्छ भने हामी यो रेटलाई अझ तल ल्याऔं । यो क्षेत्रमै भारतको रेट हेर्नुहोस्, बंगलादेशको रेट हेर्नुहोस् र हाम्रो रेट हेर्नुहोस् ।
इन्फ्लेसन चाहि भारत र हाम्रो उस्तै उस्तै छ । तर, रेट चाहि हाम्रो ज्यादा छ । त्यहाँको डिपोजिट र लेण्डिङ रेट तथा त्यहाँका उद्योगहरुले तिर्ने ब्याजदर र हाम्रा उद्योगहरुले तिर्ने ब्याजदर पनि तुलना गरेर हेरौं न । अनि हामी कसरी प्रतिस्पर्धी हुनसक्छौ ? प्रतिस्पर्धी नै नभएपछि हाम्रा उद्योगहरुले उद्योग गर्छन् कि बैंकमा ल्याएर डिपोजिट राख्नतिर लाग्छन् ? ब्याज एकदमै महंगो भयो भने तपाईले कुनै व्यापार गर्नुहोला कि, किन जोखिम लिने भनेर बंैकले दिएकै छ नि भन्दै भएको पैसा बैंकमा राख्न थाल्नुुभयो भने रोजगारी सिर्जना कसरी हुन्छ ? यी सबै कोणबाट हामीले हेर्नुपर्छ । सधैंभरि यी बैंकहरु बदमास हुन्, भिलेन हुन् भनेर एकहोरो धारे हात लगाएर कसैले केही पाउँदैन।
नेपालको सन्दर्भमा एकवर्षे मुद्धती निक्षेपमा बढीमा १० प्रतिशतको ब्याजदर सही हो । भारतमा ८–९ प्रतिशतभन्दा बढी छैन । हाम्रो पनि २–३ महिनाअघिसम्म त ८ प्रतिशत नै थियो । यो मंसिरदेखि फागुनसम्म धेरै बढ्यो । यसको एउटै कारण मार्केट टाइट भएर हो । बजारमा केही सुधार भएपछि यसमा करेक्सन पनि आउला नै । तर, मार्केटले करेक्सन नगरुञ्जेलसम्म हामी स्वअनुशासित बन्नुुपर्छ भनेर ११ र ८ प्रतिशतको भद्र सहमति गरिएको हो । राज्यले सबै कुरा भन्न नपरोस् । हामीले पनि जिम्मेवारी लिनुपर्छ, हामी पनि यो अर्थतन्त्रको सानै भए पनि स्टेक होल्डर हो, भनेर गरेको कुरालाई सकारात्मक रुपमा लिनुुपर्नेमा यति धेरै नकारात्मक विश्लेषण किन गरियो ?
बैंकको ब्याजदर उच्च भए हामीले देखेको आर्थिक समृद्धिको कुनै पनि सपना पूरा हुँदैनन् । रेट हाइ भए प्रतिस्पर्धी हुन सक्दैनौ । हाम्रो आयात बढ्छ, उद्योग डामाडोल हुन्छ । अर्को कुरा, तरलता नै बढ्नुुपर्छ पहिला । लोनको माग चाहि छ, उद्योगी तथा लगानीकर्तामा आत्मबल बढिरहेको छ, अब केही हुन्छ भनेर जागृत भएका छन् लगानीकर्ता, तर हामीसँग लगानी गर्ने पैसा छैन ।
ब्याजदर कमसेकम इन्फ्लेसन रेट भन्दा बढी हुनैपर्छ, निक्षेपकर्तालाई पनि मार्ने काम गर्नुहुँदैन । हाम्रा ग्राहक निक्षेपकर्ता र ऋणी दुवै हुन्, निक्षेपकर्तालाई मात्र हित हुने काम बैंकहरुले गर्नुभएन ।
जति हाम्रा उद्योग फस्टाउँदै जान्छन्, उति रोजगारी सिर्जना हुन्छ । बाहिरका उद्योगी समेत नेपालमा व्यापार गर्न जति आउँछन्, त्यति रोजगारी सिर्जना हुने हो । उत्पादकत्व बढाई निर्यातलाई समेत बढाउन सकिए र उद्योगधन्दा फस्टाएर रोजगारी सिर्जना गर्न सकिए युवाहरु श्रम गर्न विदेश जानुपर्ने युुगको अन्त हुने थियो । अनि मात्र सुरु हुन्छ आर्थिक विकास र समृद्धिको स्वर्णिम युग । सबैले जिम्मेवार बन्ने हो भने हामीले देखेको समृद्धिको सपना धेरै टाढा छैन ।
(कुराकानीमा आधारित)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago