काठमाण्डौ । भारत र एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्नो रिटेल व्यापारलाई जोड दिइरहेका छन्। तर, भारतमा ‘रिटेल किंग’ बन्ने उनको योजनालाई धक्का लाग्न सक्ने देखिएको छ। 

बैंक अफ इन्डियाको नेतृत्वमा बैंकहरुले फ्युचर रिटेल लिमिटेड (एफआरएल) लाई नेसनल कम्पनी ल ट्रिब्युनल (एनसीएलटी) मा तान्ने निर्णय गरेका छन्। यसले रिलायन्स इन्डस्ट्रिजलाई कम्पनीको रिटेल व्यापारमा असर पार्न सक्छ।

एफआरएललाई कर्जा दिने बैंकहरुले गत साता यस्तो निर्णय गरेको हो। तिनीहरुले यस सम्बन्धमा इनसल्भेन्सी प्रोफेसनल्स (आईपी) बाट मार्च २९ सम्ममा वित्तीय र प्राविधिक बोलपत्रहरु मागेका छन्। सर्टलिस्ट गरिएका आईपीहरुले आफ्नो योजना प्रस्तुत गर्नेछन्। ग्रान्ट थोरन्टन, पीडब्ल्यूसी, अल्भरेज एन्ड मार्सल, केपीएमजी, बीडीओ इन्डिया, ईवाई र डेलोइटले यसका लागि बोलपत्र पेस गर्ने सम्भावना रहेको छ। 

किन यस्तो भयो ?

यसअघि अर्बपति प्रेम भाट्सको फेयरफ्याक्स समूहको स्वामित्वमा रहेको सीएसबी बैंकले एफआरएल र फ्यूचर इन्टरप्राइजेजबाट २.५ करोड रुपैयाँको असुरक्षित ऋण असुली गर्न डेट रिकभरी ट्रिब्युनल (डीआरटी) मा पुगेको थियो। बैंकहरुले पनि सरफोसी ऐनअन्तर्गत असुलीलाई अगाडि बढाउने छन्। यसअन्तर्गत बैंकरहरुले धितो राखिएको सम्पत्ति लिलामी गर्न सक्छन्। एफआरएलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

हाल ईवाई फ्युचर ग्रुपको वित्तीय सल्लाहकार छ। गत वर्ष अप्रिलमा ईवाईले सबै समूहका कम्पनीहरका लागि एकपटकको पुनर्संरचना (ओटीआर) मा महत्वपूर्ण भूमिका खेलेको थियो। 

कोभिड महामारीका कारण फ्युचर ग्रुपका सबै कम्पनीको व्यापार प्रभावित भएको थियो। ओटीआर लागू गर्दा बैंकहरुले फ्युचर समूहका सबै कम्पनीमा नगद प्रवाहको अनुगमन गर्न डेलोइटलाई एजेन्सीका रुपमा नियुक्त गरेका थिए।

कम्पनीको कति छ ऋण ?

यदि फ्युचर रिटेललाई इनसोल्भेन्सी प्रोसिडिङका लागि एनसीएलटीमा तानियो भने रिलायन्ससँगको सम्झौतामा असर पर्न सक्छ। किनकि अन्य खरिदकर्ताहरुले पनि यसका लागि बोलपत्र पेस गर्न सक्छन्। कम्पनीले जनवरीमा ३ हजार ५९५ करोड रुपैयाँ ऋण तिर्न चुकेको थियो। यही कारणले गर्दा बैंकहरुले इनसोल्भेन्सी प्रोसिडिङमा विचार गरेका हुन्। 

बैंकहरु रिकभरी हुनेमा ढुक्क छैनन्। एक महिनाअघि रिलायन्सका कम्पनीहरुले फ्युचरबाट ९०० भन्दा बढी रिटेल स्टोर आफ्नो नियन्त्रण लिएका थिए।

सन् २०२० अगस्टमा किशोर बियानीको फ्युचर ग्रुप र रिलायन्स इन्डस्ट्रिजबीच २४ हजार ७१३ करोड रुपैयाँको सम्झौता भएको थियो। तर, यो सम्झौता अझै कानुनी समस्यामा फसेको छ। 

विश्वका दोस्रो ठूलो धनी जेफ बेजोसको कम्पनी अमेजनले यसलाई चुनौती दिएको छ। यो सम्झौताले अमेजन र फ्युचर कुपन्स प्रालिबीचको सेयरधनी सम्झौताको उल्लंघन भएको बताइएको छ। फ्युचरमा १७ हजार ५०० करोड रुपैयाँ ऋण छ। जसमा २७ बैंकबाट १३ हजार ८०० करोड रुपैयाँ समावेश छ। यसका साथै कम्पनीमा विदेशी ऋणका रुपमा ३ हजार ७०० करोड रुपैयाँ ऋण रहेको छ। –एजेन्सी