काठमाण्डौ । विश्व बैंकका प्रमुख डेबिड मालपासले विश्वबाट गरिबी उन्मूलनका लागि भइरहेको गतिविधिमा कोरोनाभाइरसका कारण चौपट भएको बताएका छन्।

प्रमुख मालपासले विगत तीन वर्षमा गरिबी उन्मूलन क्षेत्रमा गरिएका गतिविधि कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण चौपट भएको बताएका हुन्। ‘अहिलेसम्म जे–जे गतिविधि भएका थिए, ती सबैमा बेकार भएका छन्’, उनले भनेका छन्, ‘अहिलेसम्मको यो स्थितिले गरिबी उन्मूलन अभियानमा खर्च गरिएको पैसा बालुवामा पानी हालेसरह भएको छ।’

मालपासले कोरोनाभाइरस र यसको रोकथाम तथा नियन्त्रणका लागि विश्वभर गरिएका लकडाउनका कारण गरिबीको आँकडा बढ्ने बताएका छन्। उनले गरिबीको अवस्था विश्वस्तरमै भयावह हुन सक्ने बताएका छन्।

प्रमुख मालपासले विश्व बैंकको पछिल्लो अनुमानअनुसार विश्व अर्थव्यवस्थामा ५ प्रतिशतसम्मको गिरावट आउन सक्ने देखिएको छ। ‘अर्थव्यवस्थामा आउने यही गिरावटका कारण करिब ६ करोड मानिस गरिबीको रेखामुनि पुग्ने बाध्य हुनेछन्’, उनले भने।

जोन हप्किङ विश्वविद्यालयका अनुसार बुधबार बिहानसम्म यो महामारीबाट विश्वभर ३ लाख २२ हजार ४५७ जनाको ज्यान गइसकेके छ। विश्वभर संक्रमितको संख्या ४८ लाख ८१ हजार ६१९ पुगेको छ।