-भक्तराज रसाइली

काठमाण्डौ । काठमाण्डौका रैथाने परिवारमा जन्मेका सबिर बादे श्रेष्ठले स्कूले जीवन सेन्ट जेभियर्सबाट सुरु गरी एसीसीए चार्टर्ड एकाउण्टेन्टको प्रोफेसनल कोर्ष बेलायतबाट गरे । बीडीओ अन्तर्राष्ट्रिय लिमिटेड नामक अडिट फर्ममा ३ वर्षको अनुभव हासिल गरे । उनले काठमाण्डौ युनिभर्सिटीबाट इएमबीए कोर्ष पनि गरे । 

मल्टिनेशनल अडिट एडभाइजरका रुपमा सिनियर अडिट हुँदै असिस्टेन्ट मेनेजरको पद पनि सम्हालेका उनले त्यहाँ रहदा सामसङ्ग, भोडाफोन, अरेञ्ज टेलिकम, मुरो स्टार रेल्वेज लगायतका बहुचर्चित कम्पनीलाई आफ्नो क्लाइन्ट बनाउने स्वर्णिम अवसर पाए । देशमा न्यू पायोनियरिङ्गमा केही गर्ने हुटहुटीले उनलाई विदेशका अनेकन अवसरलाई छाडेर नेपाल ल्यायो ।

उनमा इन्भेष्टमेन्ट बैकिङ्गको राम्रो दख्खल भएकाले नेपाल फर्केर सन् २०१३ मा एनआइबीएल क्यापिटलमा सिनियर मेनेजरको पदमा उनले फण्ड प्रमुखका रुपमा आफ्नो करियर सुरु गरे । त्यसलगत्तै उनलाई नबिल इन्भेष्टमेन्ट बैंकिंगमा सेकेण्ड मेनका रुपमा प्रस्ताव आयो । त्यसको ठीक अढाई वर्षपछि खुल्ला प्रतिस्पर्धाबाट उनले नवील इन्भेष्मेन्ट बैंकिंगको सीइओ पद पाउन सफल भए । उनी यो कम्पनीको सीइओको रुपमा २०७४ साल चैतदेखि कार्यरत छन् ।

आजसम्मकै नेप्सेको उच्च बिन्दू १८८१ र भूकम्पपछिको मार्केट अनि ३ सय हाराहारी नेप्सेको बिन्दूलाई पनि आफूले सुक्ष्म रुपमा हेर्ने मौका पाएको उनले सुनाए । नबिल इन्भेष्टमेन्ट बैंकिङ सन् २०१० मा स्थापना भए पनि सन् २०१२ बाट भने फूलफेजमा काम सुरु गरेको थियो ।

भर्खरै परिपक्व भएको नबील ब्यालेन्स फण्ड पनि बलियो टिमका कारण सर्वाधिक सफल भएको उनको दाबी छ । हाल संचालनमा रहेको नबिल इक्विटी फण्डको अवस्था पनि राम्रो रहेको र दरिलो व्यवस्थापन भएको र संस्थागत परामर्शमा फोकस भएको उनले बिजशालालाई बताए ।

विभिन्न १४ भन्दा बढी सेवा दिइरहेको उनको नबील इन्भेष्टमेन्टमा पोर्टफोलियो व्यवस्थापन सर्भिस, डीम्याट डीपी, संस्थागत सल्लाह, ऋण सिण्डीकेट वा स्वीचीङ व्यक्ति वा संस्थाका लागि रहेको जानकारी गराए । 

हाल यो कम्पनीमा इक्विटी सिण्डीकेट, लघु उद्यमका लागि अतिरिक्त फण्डिङ, निजी इक्विटी फण्ड व्यवस्थापन पनि रहेको र भेञ्चर क्यापिटलमार्फत प्रत्यक्ष बैदेशिक लगानी, भ्यालुएटर, आरटीएस, सेयर निष्कासनकर्ता कम्पनी लगायतका सुविधाहरुको पूर्ण प्याकेज रहेको श्रेष्ठले जानकारी दिए ।

निकट समयमा ओपन इण्ड(खुल्लामुखी) प्रकृतिको म्युचुअल फण्ड ल्याउन लागेको उनले खुलासा गरे । यसबाहेक नबील इन्भेष्टमेन्टले उत्कृष्ट कम्पनीहरुका अन्डरराइटिङ गर्ने काम पनि गर्दै आइरहेको छ । यस फण्डले मुद्दतीभन्दा केही बढी प्रतिफल फण्डका लगानीकर्ताहरुलाई दिने उनको दाबी छ । 

डिम्याटका सुविधाबारेमा चर्चा गर्दै उनले पेपरमा रहेको उच्च जोखिम र नक्कली सेयर प्रमाणपत्रको बिगबिगी भएको दाबी गरे । पेपरलेससँगैको आधुनिकताले सेयरधनीहरुले समयमा नै बेच्नसक्ने, पारदर्शिता, जोखिमरहित र समग्र सेयर बजार बृद्धिका लागि सहज र राम्रो भूमिका खेल्न सकेको श्रेष्ठको भनाई छ ।

केही सेयरधनीहरुले प्रमाणपत्रमा इमोसनल अट्याचमेन्ट रहेको स्वीकार्दै बेच्ने बेलामा मात्र डिम्याट गर्ने परिपाटी, सचेतनाको अभाव पनि विद्यमान रहेकाले फूर्सदमा अहिले डिम्याट गर्ने सल्लाह श्रेष्ठको छ । बाँकी रहेका भौतिक सेयरहरु डिम्याट खातामा ल्याउन कम्पनीहरुले नै जनमानसमा एसएमएस गरेर आह्वान गर्नुपर्ने उनको सुझाव छ । यस विषयमा धितोपत्र बोर्डले मात्र नभई आम सञ्चारका माध्यमबाट यो बिषयमा सचेतना फैलाउनुपर्नेमा उनको जोड छ ।

नेपाली सेयरबजारमा रहेका चुनौतीका विषयमा बिजशालाले राखेको जिज्ञासामा परिपक्व लगानीकर्ताहरुको अभाव, लोनेबल फण्ड अभाव बैंक वित्तीय संस्थामा रहनु, अल्पकालीन भिजन राखेर गरिने अस्वस्थ प्रतिस्पर्धा, एकद्धार नीतिको अभावहरु रहेका बताए । सेयरको आपूर्ति अनुसार माग सिर्जना गर्ने संयन्त्रको अभाव, अपरिपक्व बजार, मोफसलमा पहँुच, आर्थिक विकास हुन नसक्नु लगायतका अवरोध पनि चुनौतिका रुपमा रहेका उनको भनाई छ । 

यससँगै यी चुनौतिहरुलाई चिर्दै उपत्यका बाहिर सेयर लगानीकर्ताको पहँुच, आर्थिक बुम, ब्राण्डिङ्ग, नयाँ बजार विकास, इन्नोभेटिभ सर्भिस, सिस्टमेटिक लगानी सहभागिता लगायतका सेयर बजारका अवसरका रुपमा चिन्नुपर्ने उनी बताउँछन् ।

आम मानिसहरुबाट उठाउने पैसाले चलेका म्युचुअल फण्डहरुको भूमिका लगानी सिद्धान्तानुसार हुनुपर्ने र नबिल इन्भेष्टमेन्ट यसतर्फ सचेत रहेको सिइओ श्रेष्ठको दाबी छ । इण्डेक्समा सचेत भई लगानी व्यवस्थापन गरिरहेकोे र जोखिम बराबर नै प्रतिफल दिन नबिल इक्विटी फण्डको टिम सतर्क रहेको उनको दाबी छ । लाभांशमा प्रतिस्पर्धाको परिपाटीले दीर्घकालमा असर गर्नेतर्फ फण्ड संचालकहरु सचेत हुनुपर्नेमा उनको जोड छ ।

सेयरबजारका बारेमा सचेतना काठमाण्डौंबाहिर पनि पुग्नुपर्ने  र यही कुरालाई मध्यनजर गर्दै नबिलले पनि २५ वटा शाखामार्फत ७ वटै प्रदेशमा उपस्थिति देखाइसकेको उनले दाबी गरे । म्युचुअल फण्डलाई आईपीओमा दिएको आरक्षणप्रति अरु सेयर लगानीकर्ताहरुको तीव्र आक्रोशका विषयमा पब्लिकले पब्लिककै रुपमा नै सेयर पाएको रुपमा बुझिदिन उनको आग्रह छ ।

बजारलाई लचक, सहजीकरण, सेवाप्रदायक र सेबोनको निर्देशनको पूर्ण परिपालनामा नबिल इन्भेष्टमेन्टको टिम सदैव चनाखो रहँदै अहिलेको बजारमा डिजर्भिङ्ग कम्पनीहरुको मूल्य सन्तुलित रुपमा रहेको र बजारमा परिपक्वताकै अभाव रहेको श्रेष्ठको दाबी छ ।

यो बसाईमा उनले बजारको पछिल्लो उतारचढावको बिषयमा समेत गफिन भ्याए । हाल बजार निरन्तर घट्ने कुनै कारण नै नरहेको दाबी समेत गरे । 

गतिशीलतालाई सधैं राम्रो रुपमा हेर्नुपर्ने अवसरका रुपमा लिई बजार प्रवेश गर्नुलाई म्युचुअल फण्डको बुद्धिमानी भएको उनको ठहर छ । घटेको बजारमा निराश नभई जोखिम अनुसार कम्पनीको छनौट गर्न सके बजारको भविष्य राम्रो देखेको सुनाए ।

श्रेष्ठको भनाईमा कालान्तरमा सेयरको बजार निकै माथि जाने, अधिक तरल हुने ठाउँ सेयर बजार भएकोले पूँजी निर्माण र लघुउद्यमका लागि दरिलो पूँजीको स्रोतका लागि समेत सेयर बजारको विकास अपरिहार्य रहेको बताए । 

पछिल्लो समयमा धितोपत्र बोर्डको बजार सुधारको प्रयास प्रशंसनीय रहेको उनको ठम्याई छ । अझ बृहत रुपमा सहकार्य गर्दै कार्यक्रम आयोजना र नीतिनियम बनाउन पाए आफूहरुले पनि पूँजीबजारको विकास लागि सक्दो योगदान दिने श्रेष्ठले बताए ।