काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्रबैंकका तत्कालीन गभर्नर डा. तिलक रावल लगायत तीनजना विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गराएको छ । 

आयोगले डा. रावलसहित केन्द्रीय बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र मे फ्लावर लिमीटेडका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गराएको हो । 

तीनैजनाविरुद्ध सो समयमा १० रुपैयाँको पोलिमर नोट छपाईमा भ्रष्टाचार गरेको भन्दै जनही ९१ लाख ९ हजार ८ सय ८९ का दरले बिगो भराउन माग गर्दै विशेष अदालतमा मुद्धा दर्ता गराएको हो ।

अख्तियारका सहसचिव एवम् प्रवक्ता रामेश्वर दंगालका अनुसार अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैरकानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएकोुु भन्ने समेतको उजुरीउपर आयोगबाट अनुसन्धान हुँदा बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाइ हस्तान्तरण गर्न लगाउने काम भएको पाइएको अख्तियारले विशेष अदालत काठमाण्डौमा दायर गरेको आरोपपत्रमा दाबी गरिएको छ । 

यस्तै, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधी बिचका निरन्तर पत्राचार हुने, छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागी मिडियाकर्मीहरुलाई थाईल्याण्ड हुदै अष्ट्रेलिया पठाउने, नोट छपाईका लागि जसलाई पछि कार्यादेश दिइएको हो उसलाई नै बोलपत्र पूर्व नै नोटको डिजाईन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने, परल मूल्य प्रति हजार अस्टेलियन डलर ६८ बाट ४ डलर बढाउन लगाई सोही बमोजिम बोलपत्र र सम्झौता गरी नेपाल राष्ट्र बैंकका एवम् नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्याई आफू समेतलाई फाइदा पुग्ने कसुर गरेको सप्रमाण पुष्टि भएको दाबी गरिएको छ ।