काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले नेपाल इन्फ्रास्टक्चर बैंक लिमीटेडलाई कारोबारको इजाजत प्रदान गरेका छन् । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम नेपाल सरकार सहित केही प्रतिष्ठित वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, नीजि कम्पनीहरु तथा व्यक्तिगत व्यवसायीहरुको संयुक्त लगानी र प्रयासबाट गत जेठ २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रुपमा यो बैंकलाई माघ २८ गते गभर्नर डा. नेपालले वित्तीय कारोबार गर्ने इजाजतपत्र प्रदान गरेका हुन् ।

रु.४० अर्ब अधिकृत पूँजी, २० अर्ब जारी पूँजी र १२ अर्ब चुक्तापूँजी रहेको यस बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालको पूर्वाधार (यातायात, कृषि, उर्जा, पर्यटन, सेज, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधीलगायत)विकासमा अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ । 

नेपाल सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको यस बैंकको मुख्य कार्यक्षेत्र अन्तर्राष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरका पूर्वाधार विकासका परियोजनाहरुमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरिक र बाह्य स्रोत जुटाउने रहेको छ ।