काठमाण्डौ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडले एफपीओ जारी गर्न नेपाल राष्ट्रबैंकमा गरेको प्रस्ताव अस्वीकृत भएको छ । 

यो बित्तीय संस्थाको गत पुस २६ गते सम्पन्न १७ औं वार्षिक साधारणसभाले विशेष प्रस्तावको रुपमा संस्थापक र सर्वसाधारणको हाल कायम सेयर स्वामित्व संरचना परिवर्तनका लागि एफपीओ निश्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । 

हाल यो कम्पनीमा संस्थापक र सर्वसाधारण सेयरधनीको हिस्सा ७०ः३० को अनुपातमा छ । यसलाई कम्पनीले परिवर्तन गरी ५१ः४९ बनाउनलाई एफपीओ जारी गर्न खोजेको थियो । 

कम्पनीले १० करोड ४८ लाख  १४ हजार ८०० रुपैयाँ बराबरको साधारण सेयरको थप निश्कासन गर्ने र ६ करोड ६० लाख ३३ हजार ३०० रुपैयाँ बराबरको संस्थापक सेयरलाई सर्वसाधारणमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। 

साधारणसभाको यो निर्णयसहित कम्पनीले नियामक केन्द्रीय बैंकमा निवेदन दिए पनि बैंकले केही विषयमा प्रश्न उठाउँदै अस्वीकृत गरिदिएको हो ।