काठमाण्डौ । बैंक वित्तीय संस्थाहरुलाई नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको विभिन्न भुक्तानी प्रणालीहरुमा आवद्ध गराउँदै लैजाने क्रममा कम्पनीले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडसँग विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौता गरी ती सेवा शुरु गराएको छ ।

सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले हस्ताक्षर गरे ।

यस अनुरुप नेपाल इन्फ्रास्ट्रक्चर बैंकका ग्राहकहरुले एनसीएचएल र इसीसी प्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा विद्युतीय माध्यममार्फत चेक राफसाफ गर्न सक्नेछन् । 

यस्तै, एनसीएचएल आइपीएस प्रणालीमार्फत कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता अन्तरबैंक कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । 

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ । हालसम्म चेक क्लियरिङ्ग प्रणालीमा ८१ बैंक/वित्तीय संस्थाहरु र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ७६ बैंक तथा वित्तीय संस्थाहरु आवद्ध छन् ।