काठमाण्डौ । चुक्तापूँजीमा भएको बढोत्तरीको तुलनामा नाफा बढ्न नसक्दा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) भने घटेको छ ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो कम्पनीले ३ करोड ५९ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफा ६९.५० प्रतिशतले बढेको हो । तर, अघिल्लो वर्षको यही अवधिको तुलनामा चुक्तापूँजी भने १९१.५५ प्रतिशतले वृद्धि भई ४ करोड ५० लाखबाट १३ करोड ११ लाख पुगेको छ । यहीकारण इपीएसमा गिरावट आएको हो । अघिल्लो वर्ष यही अवधिमा ६२.८६ रुपैयाँ रहेको इपीएस यो वर्ष घटेर ३६.५४ रुपैयाँमा सीमित बन्न पुगेको हो ।

मिर्मिरे लघुवित्तले अघिल्लो वर्षको यही अवधिसम्म २ करोड ६७ लाखमा सीमित संचालन मुनाफा बढाएर यो वर्ष ४ करोड ७१ लाखको उचाई चुमाएको छ ।

समीक्षा अवधिमा कम्पनीले ८ करोड ८३ लाख खूद ब्याज आम्दानी गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ४९.०१ प्रतिशत बढी हो ।

यो अवधिमा कम्पनीले ६८ करोड निक्षेप संकलन गरी तथा १ अर्ब ६२ करोड सापटी लिएर २ अर्ब ४० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३४ करोड १५ लाख निक्षेप संकलन गरी तथा ८९ करोड ४३ लाख सापटी लिएर १ अर्ब २४ करोड मात्र कर्जा परिचालन गरेको थियो ।
कम्पनीले ५ करोडमा सीमित रिजर्बको आकार ४१.५६ प्रतिशतले बढाएर ७ करोड ८ लाखको उचाई चुमाएको छ भने ०.९७ प्रतिशत रहेको खराब कर्जाको अनुपातलाई घटाएर ०.५७ प्रतिशतमा झारेको छ ।

समीक्षा अवधिमा मिर्मिरेको प्रतिसेयर नेटवर्थ १५४.०३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.७९ गुणा कायम भएको छ ।