काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा करिब १० प्रतिशतको गिरावट आएको छ । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा बैंकको नाफा २ अर्ब ५६ करोडमा सीमित बनेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकले २ अर्ब ८३ करोड नाफा कमाएको थियो । 

बैंकले संभावित जोखिम व्यवस्थापनका लागि निकै ठूलो रकम छुट्याउनु परेपछि नाफा घटेको हो । संभावित जोखिम व्यवस्थापनका लागि ९२ करोड बढी छुट्याएको छ। 

समीक्षा अवधिमा बैंकले १ अर्ब ४३ करोड बाँड्नमिल्ने नाफा आर्जन गरेको छ । नाफाको यो दर चौथो त्रैमाससम्म पनि कायम रहेमा र नियामकीय व्यवस्थाका लागि थप दायीत्व सिर्जना नभए १ अर्ब ९१ करोड वितरणयोग्य मुनाफा आर्जन गर्नसक्ने देखिन्छ । बैंकमा सेयर प्रिमियमको रुपमा १० करोड २२ लाख रुपैयाँ रहेको छ । यो रकम समेत जोडेर हिसाब गर्ने हो भने बैंकले यो वर्ष आफ्ना लगानीकर्तालाई १६ प्रतिशतसम्म लाभांश दिनसक्छ । हाल यो बैंकको चुक्तापूँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ।

यो अवधिमा बैंकको संचालन मुनाफा समेत ४ अर्ब ५ करोडबाट घटेर ३ अर्ब ६८ करोडमा सीमित भएको छ । 

अघिल्लो वर्ष ४ अर्ब ११ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर यो वषृ ४ अर्ब ९१ करोडको उचाईमा पुगेको छ भने ९ अर्ब ७७ करोडमा सीमित रिजर्बको आकार बढाई १० अर्ब ५५ करोड रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ४२ अर्ब निक्षेप संकलन गरी १ खर्ब २४ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप ४ प्रतिशतको हाराहारीमा बढेको छ भने कर्जा बिस्तारतर्फ करिब ५ प्रतिशतको हाराहारीमा प्रगति भएको छ । 

यो बैंकमा खराब कर्जाको अनुपात तीव्र गतिमा बढ्दै गएको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ०.७६ प्रतिशत रहेको खराब कर्जाको अनुपात ३०० प्रतिशतले बढेर यो वर्ष ३.०४ प्रतिशत पुगेको छ । खराब कर्जाको अनुपात बढ्नु वित्तीय स्वास्थ्यका लागि अशुभ संकेत हो ।

बैंकको अघिल्लो वर्ष ६.३५ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ६.४८ प्रतिशत पुगेको छ भने ९.१२ प्रतिशत रहेको आधार दर घटेर ८.५४ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी गत वर्षको यही अवधिको तुलनामा २३.५७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यही अवधिमा ३५.५५ रुपैयाँ रहेको इपीएस घटेर यो वर्ष २७.१७ रुपैयाँमा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १९९.२० रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.२१ गुणा कायम भएको छ ।