काठमाण्डौ । डेपुटी गभर्नरको दौडमा अन्तिम अवस्थामा पछाडि पारिएका लक्ष्मीप्रपन्न निरौला नेपाल राष्ट्रबैंकको प्रवक्तामा नियुक्त भएका छन् । 

मुद्रा व्यवस्थापन विभागको कार्यकारी निर्देशकको रुपमा काम गरिरहेका निरौलालाई बैशाख २९ गतेदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी समेत दिइएको राष्ट्रबैंक स्रोतले जनाएको छ । 

तत्कालीन प्रवक्ता नारायणप्रसाद पौडेल अवकाश हुने भएपछि र उनी विदामा बसेपछि रिक्त पदमा निरौलालाई लगिएको हो । 

निरौला निकै परिपक्व कार्यकारी निर्देशक हुन् । डेपुटी गभर्नर बन्ने दौडमा उनलाई पनि संभावित पात्रको रुपमा हेरिएको थियो । तर, चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलाई डेपुटी दिइएको थियो । 

उनले बैंक सुपरीवेक्षण, नियमन विभागको समेत अनुभव सँगालिसकेका छन् । समस्याग्रस्त बनेको नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक सुधारका लागि नेपाल राष्ट्रबैंकबाट उनकै नेतृत्वको टोलीले काम गरेको थियो । बैंकलाई सुधारेर उनले जिम्मा लगाएको एनसीसी बैंकले पछिल्लो समेत राम्रो प्रगति गरिरहेको छ । निरौला अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर हुन् ।