काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोलबाट बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचना प्रकाशित गर्दै ७ वर्षे अवधिको 'विकास ऋणपत्र २०८३-ख' बोलकबोल प्रक्रियाद्वारा निश्कासन हुने भन्दै सो ऋणपत्र खरीद गर्न इच्छुकलाई भोलि(बैशाख ३१ गते) दिउँसो ३ बजेसम्म बोलपत्र पेश गर्न आग्रह गरेको हो । 

बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने यो वित्तीय उपकरणमा बैंक तथा वित्तीय संस्था, गैरबैंक बित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक सहभागी हुन पाउनेछन् ।

केन्द्रीय बैंकका अनुसार विकास ऋणपत्र खरीद गर्न चाहनेले  मंगलबार दिउँसो ३ बजेभित्र  नेपाल राष्ट्रबैंकको अनलाइन बिडिङ सफ्टवेयरमार्फत बोलकबोल पेश गर्नुपर्नेछ ।

बोलकबोलको निश्कासन जेठ १ गते हुनेछ भने ऋणपत्रमा गरिएको साँवा लगानी २०८३ जेठ १ गते फिर्ता हुने बताइएको छ । 

ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याज ब्याजकर लाग्ने केन्द्रीय बैंकको प्रष्टोक्ति छ । 

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निश्कासित रकमको ८० प्रतिशत र अप्रतिस्पर्धीलाई  २० प्रतिशत अर्थात क्रमशः ६४० करोड र १६० करोड छुट्याइएको बैंकको सूचनामा उल्लेख छ ।

इच्छुकले घटीमा रु. पचास हजार र बढीमा निश्कासित रकमको सीमामा नबढाई  रु. पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि खरीद गर्न सक्नेछ । 

यो ऋणपत्रको दोश्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमीटेडमार्फत हुनेछ ।