काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को बजेटलाई बैंकरहरुले पनि स्वागत गरेका छन् । 

नेपाल बैंकर्स एशोसिएसन र डेभलपमेन्ट बैंकर्स एशोसिएसनले बजेटले बैंक तथा वित्तीय क्षेत्रले उठाएका अधिकांश मागहरु सम्बोधन भएका भन्दै स्वागत गरेका हुन् । 

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बजेटले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा विशेष जोड दिएको उल्लेख गर्दै यसले लगानीयोग्य रकमको उपलब्धता सहज बन्ने आशा गर्न सकिने बताए । ‘बजेटका कारण मुद्रास्फितिमा चाप पर्ने पनि देखिन्छ, तर समग्रमा राम्रो बजेट आएको छ ।’ उनले भने–‘ठूला बैंकहरुबीचको मर्जरलाई प्रोत्साहित गर्ने कुरा सकारात्मक छ । विद्युतीय भुक्तानी, पेमेन्ट गेट्वेका कुरामा विशेष जोड दिइएको छ । समग्रमा आशा गरेअनुसार नै बजेट आएको छ ।’

उनले सुनचाँदीजस्ता बहुमूल्य धातुलाई निक्षेपको रुपमा बैंकमा राख्न सकिने नौलो कार्यक्रम समेत बजेटमार्फत आएको उल्लेख गर्दै भने–‘यो व्यवस्थाले आइडल बसेको एसेटलाई कमर्सियल एसेट बनाउँछ । यसको डिटेल आएको छैन, मनिटरी पोलिसीबाट आएपछि बाँकी कुरा थाहा होला।’

आफूहरुले ‘बिग मर्जर’लाई प्रोत्साहन गर्न करमा छुटको माग गरेको र सो विषयलाई बजेटमा ‘बिग मर्जरलाई प्रोत्साहित गरिनेछ’ भनेर सम्बोधित भएको ढुंगानाको दाबी छ । 

डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष गोविन्द ढकालले बजेट मिश्रित खालको आएको प्रतिक्रिया दिए । ‘बजेटमा मर्जरको कुरा त आएको छ, तर माग गरिएअनुसार आयकरमा छुट दिने कुरा देखिएन, यसले अन्यौल सिर्जना गरेको छ । ग्रोथ रेटको टार्गेट ८.५ प्रतिशत भनिएको छ । त्यो अनुसार लगानी गर्न आवश्यक हुन्छ । त्यसका लागि तरलता के हुन्छ भन्ने कुरा हेर्नुपर्छ ।’ ढकालले भने–‘७ प्रतिशत ग्रोथ रेटको लक्ष्य राख्दा समेत फण्ड टाइट भएको अवस्था छ । लगानी गर्ने पैसाको पर्याप्त उपलब्धता हुन्छ कि हुन्न भन्ने कुरा महत्वपूर्ण हो । तर समग्रमा बैंकिङ उद्योगका लागि राम्रै बजेट आएको छ।’

सुनलाई निक्षेपको रुपमा राख्न पाउने व्यवस्थाको उनले समेत प्रशंसा गरे।

बजेटको योजना र लक्ष्य राम्रो रहेको उल्लेख गर्दै उनले थपे–‘कार्यान्वयनको पाटो चुनौतिपूर्ण हुनसक्छ ।’