काठमाण्डौ । एउटै लगानीकर्ताको विभिन्न बैंकमा रहेको लगानी खोजी त्यस्ता संस्थालाई ‘फोर्स मर्जर’को प्रयास गर्न राष्ट्रबैंक तातेको छ। 

राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले यस्तो जानकारी दिएका हुन् । 

मौद्रिक नीतिमार्फत भएको व्यवस्थालाई कार्यान्वयनका लागि बिहीबार नै २७ वटा वाणिज्य बैंकलाई पत्र लेखी चुक्तापूँजीको ०.१ प्रतिशतभन्दा बढी लगानी गर्ने लगानीकर्ता(व्यक्ति वा परिवार)को विवरण मागिएको उनले जानकारी दिए । 

बिहीबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले भने–‘हामीले आजै चिठी पठाएका छौ । अब बैंकहरुबाट सूचना आउँछ र त्यसलाई हेरेर हामी एउटै लगानीकर्ता रहेका बैंकहरुलाई मर्जरमा जान निर्देशन दिन्छौ ।’

उनले एउटै व्यक्ति वा परिवारको दुई वा सो भन्दा बढी बैंकमा लगानी हुन नसक्ने प्रष्ट पार्दै भने–‘यसरी क्रस होल्डिङ हुनेहरुलाई हामी मर्जरमा जान निर्देशन दिन्छौ । त्यसकारण फोर्स मर्जरको नीति राष्टबैंकले चटक्कै बिर्सियो भनेर नबुझ्दा हुन्छ । एउटै व्यक्ति वा परिवारलाई दुईवटा बैंक किन चाहियो ?’

नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको यो विषय बलियो रुपमा अगाडि आयो भने एउटै समूह, परिवार वा व्यक्तिको क्रसहोल्डिङ रहेका केही बैंकहरु मर्जरमा जानुपर्ने बाध्यतामा पर्न सक्नेछन् । 

इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकमा लगानी रहेका पृथ्वीबहादुर पाण्डे र उनको समूहलाई यो व्यवस्थाले सकस पर्न सक्नेछ । यस्तै, एनएमबी, एनआइसी एशिया, सनराइज बैंकमा लगानी रहेका कतिपय समूह(मारवाडी समुदायसँग सम्बद्ध विभिन्न ग्रुप) समेत यस्तो नीतिको निशानामा पर्न सक्नेछन् । 

खेतान ग्रुपको लगानी रहेको लक्ष्मी बैंक, हिमालयन बैंक र नेपाल बैंकलाई समेत मर्जरको नीतिले प्रभावित गर्न सक्नेछ । सिभिल र सिटिजन्स बैंकमा लगानी रहेको प्रदीपजंग पाण्डे समूह, एनसीसी बैंक र नेपाल बंगलादेश बैंकमा लगानी रहेको एनबी ग्रुपलाई समेत राष्ट्रबैंकले कस्न सक्नेछ ।