काठमाण्डौ । नेपाल राष्ट्रबैंकले गरेको केही सन्देहास्पद व्यवस्थाका कारण बैंकहरुको नाफा र आम्दानीमा पहिरो जाने अवस्था देखिएसँगै बैंकर अन्यौलमा छन् । 

राष्ट्रबैंकले स्प्रेडको गणना गर्दा निक्षेप र कर्जाको अंशलाई मात्र सहभागी गराउनुपर्ने व्यवस्था गरेपछि यसले समग्र उद्योगकै आम्दानी र नाफामा पहिरो जाने अवस्था देखिएपछि बैंकरहरु चिन्तित बनेका हुन् । 

राष्ट्रबैंक हठात रुपमा स्प्रेड गणनाको नयाँ विधि लागू गर्न निर्देशन  दिएपछि र बैंकहरुका लागि थप दायीत्वको भारी बोकाउने गरी केही नयाँ व्यवस्था गरेपछि अवस्था भयावह बनेको बैंकरहरुको बुझाई छ । 

यही बुझाईसहित बुधबार नेपाल बैंकर्स संघको बैठक बस्यो । बैठकले राष्ट्रबैंकलाई आफ्नो निर्देशनमा पुनरविचार गरिदिन आग्रह गर्ने निर्णय गर्यो । 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ झै विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघले समेत यही विषयमा छलफल गरी आवश्यक निर्णय लिन शुक्रबार बैठक बोलाएको छ । 

‘हामीले शुक्रबार दिउँसो बैठक बोलाएका छौ ।’ डेभलपमेन्ट बैंकर्स संघका एक अधिकारीले भने–‘राष्ट्रबैंकले बैंकहरुलाई जानाजान संकटमा पार्ने र व्यापारीलाई फाइदा हुने गरी निर्देशन जारी गरेको छ, यो विषयमा हाम्रो धारणा सार्वजनिक गर्नेछौ ।’