काठमाण्डौ । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भई हालै औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको शुरुवात गरेको छ । 

कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालीकामा अवस्थित ३२ मेगावाट  उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनाबाट यो बैंकले लगानीको सुरुवात गरेको हो । 

बैंकले शुरुवाती रुपमा आफ्नो अगुवाई तथा हिमालयन बैंक लिमिटेडको सहअगुवाई र सानिमा बैंक लिमिटेडको सदस्यता रहेको सहवित्तीयकरण सम्झौता गरेको छ । 

कुल परियोजना लागत रु. ५ अर्ब ८० करोड रुपैंया रहेको यो परियोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण समेत गरी  रु. ४ अर्ब ६ करोड रुपैंया कर्जा प्रवाह हुने बैंकले जनाएको छ । 

देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको यस बैंकले जलविद्युत्, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्यलगायतका अन्य विभिन्न पूर्वाधार परियोजनाहरुको पहिचान एवम् आवश्यक अध्ययन सम्पन्न गरिसकेको र उक्त परियोजनाहरुमा निकट भविष्यमै लगानी विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ ।