१६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब ६५ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल सोमबार बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको छ।

बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिलमध्ये ३ अर्ब १३ करोड रुपैयाँ ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । यो परिमाणको ट्रेजरी बिल आगामी मंसिर १७ गते परिपक्व हुनेछ ।

यसैगरी राष्ट्र बैंकले ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने १८२ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । यो परिमाणको ट्रेजरी बिल आगामी फागुन २० गते परिपक्व हुने छ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्छन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट गरिन्छ।