काठमाण्डौ । अघिल्लो वर्षको खूद नाफाबाट लगानीकर्तालाई बोनस सयर र नगद लाभांशको डबल अफर दिएर मालामाल बनाएको डिप्रोक्स लघुवित्त विकास बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ । 

अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ८ करोड ८५ लाख खूद नाफा रहेकोमा यो वर्षको सोही अवधिमा बढाएर १४ करोड ७० लाखको उचाईमा पुर्याएको हो । 

यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा डिप्रोक्सको खूद नाफा ६५.९७ प्रतिशतले वृद्धि भएको देखिएको छ । 

यो बैंकको खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति भएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म २१ करोड ७८ लाख रुपैयाँ खूद ब्याज आम्दानी रहेकोमा यो वर्ष बढेर ३० करोड ५१ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा यो माइक्रोफाइनान्सले २ अर्ब ७८ करोड रुपैयाँ सापटी लिएको छ भने ४ अर्ब ६९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ३ अर्ब १८ करोड मात्र कर्जा परिचालन गरेको थियो । 

दोश्रो त्रैमाससम्ममा डिप्रोक्सको चुक्तापूँजी  २५ करोड ७९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५९ करोड ५ लाख रुपैयाँ रहेको छ । 

यो बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ५७ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ ३ सय २८ रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात ३८.९५ गुणा कायम भएको छ । 

डिप्रोक्स डेभलपमेन्ट बैंकले अघिल्लो आर्थिक वर्षको खूद नाफाबाट आफ्ना सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । यस्तै, यो बैंकले हालै धितोपत्र बोर्डबाट १ सय प्रतिशत हकप्रद निश्कासनको स्वीकृति पाएको छ । बोनस सेयर र हकप्रद समेत वितरण गरिसकेपछि चुक्तापूँजी ६० करोड भन्दा माथि पुुग्नेछ ।