काठमाण्डौ । बम्पर लाभांश र सहकार्य लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई टुंगो लगाउन उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड आफ्नो पाँचौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण यही पुस २९ गते रुपन्देहीको भैरहवास्थित होटल पौवामा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल ४०.६३ प्रतिशत लाभांश अनुमोदन हुनेछ । प्रस्तावित लाभांशमा चुक्तापुँजीको ३८.६० प्रतिशत बोनस सेयर र २.०३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।

सभामा सहकार्य लघुवित्तसँगको मर्जर प्रक्रियाका क्रममा भएका कार्यहरु छलफल गरी अनुमोदन हुनेछन् ।

सेयर स्वाप अनुपातअनुसार सहकार्यको १०० कित्ताबराबर उन्नतिको ७५ कायम हुने प्रस्ताव पारित हुनेछ । त्यस्तै मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ता प्रतिवेदनसमेतका आधारमा संयुक्त मर्जर समितिले कायम गरेको संशोधित सेयर स्वाप अनुपात सभाले स्वीकृत गर्नेछ ।

सभाले दुवै लघुवित्त आपसमा गाभ्ने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गर्न नियुक्त लेखापरीक्षक तथा मूल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्नेछ ।

दुवै लघुवित्त आपसमा मर्ज भएपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

हकप्रद जारीपश्चात वित्तीय संस्थाको अधिकृत पुँजी  ६० करोड रुपैयाँ, जारी पुँजी २९ करोड ९० लाख ७३ हजार ३०० रुपैयाँ र चुक्तापुँजी २९ करोड ९० लाख ७३ हजार ३०० सम्म वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

आपसमा गाभिएपछि बन्ने वित्तीय संस्थाको नाम उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड रहने र केन्द्रीय कार्यालय रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहने प्रस्ताव अनुमोदन हुनेछ ।

दुवै लघुवित्त आपसमा गाभिएपछि संस्थामा ७५.४५ प्रतिशत सेयर संस्थापक र २४.५५ प्रतिशत सेयर सर्वसाधारण समूहको रहने प्रस्ताव सभाले पारित गर्नेछ । 

साधारणसभा र लाभांश प्रयोजनका लागि उन्नति लघुवित्तले पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्र संस्थाको साधारणसभा र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।