काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा  ८२ करोड १८ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ५.१८ प्रतिशतले मात्र बढी हो । 
 
यो अवधिमा बैंकको वितरण योग्य मुनाफा ६० करोड ६३ लाख रहेको छ । नाफाको यो दर बाँकी २ त्रैमाससम्म पनि निरन्तर रहेमा बैंकले यो वर्ष १२ प्रतिशतको हाराहारीको रिटर्न मात्र दिन सक्ने देखिएको छ । बैंकको चुक्तापूँजी ८ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । 
 
खूद नाफा आर्जनमा झिनो मात्र प्रगति गरेको बैंकको रिटेन अर्निङमा ५२.७७ प्रतिशतको पहिरो गएको छ । 
 
समीक्षा अवधिमा बैंकले ९७ अर्ब ५२ करोड निक्षेप संकलन गरी ८७ अर्ब ५४ करोड बढी कर्जा प्रवाह गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा क्रमशः १४.४७ र १६.५८ प्रतिशतले बढी हो । 
 
व्यवसाय बिस्तारमा औसत मात्र प्रगति गरेको बैंकले यो अवधिमा खूद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा १७.११ प्रतिशतले बढाएर १ अर्ब ९८ करोडको उचाई चुमाएको छ । 
 
अघिल्लो वर्ष १ अर्ब १४ करोडमा सीमित संचालन मुनाफा बढेर यो वर्ष १ अर्ब २३ करोडको उचाईमा पुगेको छ भने १०.६७ प्रतिशतले रिजर्ब बढी २ अर्ब ५ करोड पुगेको छ । 
 
अघिल्लो वर्ष ०.४४ प्रतिशत रहेको खराब कर्जाको अनुपात केही बढेर ०.४५ प्रतिशत कायम भएको छ भने ७.९८ प्रतिशत रहेको कष्ट अफ फण्ड घटेर ७.६४ प्रतिशतमा सीमित बनेको छ । 
 
अघिल्लो वर्ष यही अवधिमा १९.४० रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा झिनो बढोत्तरी भई १९.४३ कायम भएको देखिएको छ । 
 
दोश्रो त्रैमासको अन्तिमको बैंकको पीई अनुपात ११.७८ गुणा र प्रतिसेयर नेटवर्थ १३१.८८ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ अघिल्लो वर्षको तुलनामा ५.४५ प्रतिशतले गिरावट आएको हो ।