काठमाण्डौ । एनआइसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटको अलावा वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज बैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको छ । 

यसले गर्दा ग्राहकहरूको वित्तीय भार कम हुन गई कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

‘उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आईरहेको यस बैंकले यस विषम परिस्थितिमा समेत आफु एक उत्तरदायी कर्पोरेट नागरिकको हिसाबले समग्र अर्थतन्त्रको सबलीकरणमा टेवा पुर्याउने मनशायले नियमनकारी निकायबाट जारी निर्देशनलाई अक्षरशः पालना गर्दै सोको अलावा थप सहुलियत प्रदान गर्दै ग्राहकहरूको सर्वोपरि हितलाई सम्बोधन गर्नु आफ्नो परम कर्तब्य र प्रथामिकताको रुपमा लिएको छ ।’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशनको पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेका ऋणिहरुको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम ग्राहकको खातामा जम्मा गरिसकेको बताएको छ । 

साथै एनआईसी एशिया बैंकले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता/ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना तथा पेनल ब्याजको शतप्रतिशत मिनाहा गर्ने योजना समेत ग्राहकमाझ लागू गरेको हो । 

बैशाख महिनाको हकमा नेपाल राष्ट्र बैंकबाट जारी ऋणीहरुको चैत्र मसान्तसम्म कायम रहेको ब्याज दरमा २ प्रतिशत ब्याज छुट प्रदान गरे पश्चात हुन आउने साधारण ब्याजमा समेत १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था यस बैंकले गरेको हो । यो छुटको अफरलाई बैंकले दुर्लभ अवसर पनि भनेको छ । 

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने बताइएको छ । 

बैंकले २०७७ वैशाख महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरेको छ । यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेष्ठ महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गरिने बैंकले जनाएको छ । बैंकले प्रदान गर्ने १० छुट छुट आधार दरमा कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू नहुने तथा बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत्र मसान्तको आधार दर भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको बताइएको छ । 

नेपाल राष्ट्र बैंकले बैशाख १६ गते कोभिड १९ बाट ऋणिहरुमा परेको असर न्यूनिकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणिहरुको २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा २ प्रतिशतले कम गर्न निर्देशन दिएको थियो । 

यसबाट ऋणिहरुको २०७६ चैत्र मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत विन्दुले कम गरी आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको ब्याज रकममा गणना गर्नुपर्ने तथा यसरी ब्याजदर गणना गर्दा बैंक तथा वित्तीय संस्थाहरु आधारदर भन्दा कम गर्न बाध्यकारी नहुने व्यवस्था नेपाल राष्ट्रबैंकले गरेको छ । साथै, २०७७ असार मसान्त पश्चात विद्यमान व्यवस्था अनुसार आधार दरका आधारमा कायम हुने ब्याजदर निर्धारण सकिने समेत केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ।

तर, यस्तो छुट खाद्यान्न प्रशोधन तथा बिक्री वितरण, ग्यास उत्पादन तथा बिक्रीवितरण, सोप एण्ड केमिकल्स, औषधी बिक्रीवितरण, दुरसंचार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग, सञ्चालनमा रहेका जलविद्युत परियोजनाहरुमा भने लागू नहुने केन्द्रीय बैंकको प्रष्टोक्ति छ । 

नेपाल राष्ट्र बैंकले यसअघि चैत्र १६ गते निर्देशन जारी गर्दै २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरुले चैत्र महिनाभित्र नै ब्याज तथा किस्तामा समाविष्ट ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्न निर्देशन दिएको थियो । जसअनुसार ऋणिहरुले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको बक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट गर्न निर्देशन थियो ।