काठमाण्डौ । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि जारी गरिएको लामो समयको लकडाउनका कारण देशको अर्थतन्त्र चौपट बन्दै गएको छ । यो बेलामा देशका बैंक तथा वित्तीय संस्थाहरु समेत धराशायी बनेका छन् । नियमित खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेका बैंकहरुले खर्च कटौतिमा अनेकन जुक्ति लगाइरहेका छन् । आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति निर्माणमा सक्रिय नेपाल राष्ट्रबैंकले चाहि बैंकहरुको संख्या घटाउने र बढ्दो खर्च व्यवस्थापनका लागि समेत ‘बिग मर्जर’को नीतिलाई बलियो रुपमा पुनः लिएर आउँदैछ ।
राष्ट्रबैंकका नयाँ गभर्नर महाप्रसाद अधिकारी समेत ‘बिग मर्जर’कै पक्षपाती रहेका कारण कतिपय ठूला भनिएका बैंकहरु मर्जरमा जाने मनोवैज्ञानिक दवाबमा छन् ।
यहीबेला बैंकिङ उद्योगकै बलिया मानिएका दुई बैंकबीचको मर्जरको हल्ला फेरि चलाइएको छ । अर्थात, हिमालयन बैंक लिमीटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडबीच ‘बिग मर्जर’को तयारी हुँदैछ भन्ने हल्ला बजारमा व्यापक बनाइएको छ । बजारमा फैलाइएको हल्लाभन्दा यथार्थ भने केही फरक रहेको छ ।
हिमालयन बैंकका एक संचालकका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकलाई हिमालयन बैंकलाई टेकओभर गर्ने चाहनाअनुसार नेपाल राष्ट्रबैंकदेखि आफ्ना संचालक लगायतका निकायसँग निरन्तर प्रयास गरिरहेको छ । ‘इन्भेष्टमेन्ट बैंक हिमालयन बैंकलाई टेकओभर गर्न चाहन्छ ।’ ती संचालकले भने–‘तर हल्ला चलाइएजस्तो यो सजिलो र सहज भने छैन ।’
हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुने हो भने उद्योगकै बलियो बैंक बन्ने निश्चित छ । तर, मर्जर हुनका लागि दुवै बैंकको उत्तिकै प्रयास र इच्छाशक्ति हुन आवश्यक छ । स्रोतहरुका दाबीलाई आधार मान्ने हो भने इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान हिमालयन बैंक उति इच्छुक छैन । तर, नेपाल इन्भेष्टमेन्ट बैंक भने हिमालयन बैंकलाई जसरी पनि मर्ज गरी देशकै ठूलो बैंक बन्ने योजनामा छ ।
‘इन्भेष्टमेन्टलाई हिमालयन बैंक टेकओभर गर्दा फाइदा होला, हामीलाई चाहि छैन ।’ हिमालयन बैंकका ती संचालकले भने–‘हामी देशकै बलियो बैंक हौं र राम्रोसँग चलेको बैंक पनि हो । मर्जरमा हामी उति इच्छुक छैनौं ।’
किन चल्यो हल्ला ?
स्रोतका अनुसार पछिल्लो समय हिमालयन बैंकका केही संचालकहरुले गभर्नर महाप्रसाद अधिकारीसँग विभिन्न प्रसङ्ग र विषयमा छलफल गरेका थिए । सो क्रममा गभर्नर अधिकारीले हिमालयन बैंकले पनि मर्जरको प्रयास थाल्नुपर्ने भनी सुझाव दिएका थिए । ‘यही विषयलाई अवसरको रुपमा प्रयोग गरी केही व्यक्तिले राष्ट्रबैंकले समेत हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर चाहन्छ भनेर हल्ला फैलाए ।’ स्रोत भन्छ–‘राष्ट्रबैंकले अहिले ‘फोर्स मर्जर’ गर्न सक्दैन । हाम्रो सवालमा तत्काल कुनै संस्थासँग मर्जरमा जाने कुरा उति संभव छैन ।’
हिमालयन बैंकको संचालक वा उच्च व्यवस्थापन तहमा हालसम्म नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको जाने संभावनाको विषयमा सामान्य कुरा समेत भएको छैन । ‘यो विषयमा हामीलाई कुनै इन्ट्रेस्ट नै छैन ।’ स्रोत भन्छ–‘नेपाल इन्भेष्टमेन्ट बैंकलाई हिमालयनलाई टेकओभर गर्नसक्छु भन्ने लागेको होला, त्यो उसको इस्यू भयो । तर, हामीले यसलाई औपचारिक रुपमा हेरेकै छैनौं । गुड गभर्नेन्स, वैदेशिक साझेदार लगायत धेरै इस्यूहरु छन् ।’
हिमालयन बैंकमा लगानी गरेको पाकिस्तानको हबिब बैंक गएर उसको ठाउँमा बेलायतको सिडीसी आउने विषय लगभग निश्चित झै भइसकेको छ । सिडीसी नेपालमा आओस् भन्ने चाहना अर्थमन्त्री डा. युवराज खतिवडाको पनि छ । सीडीसी हिमालयन बैंकमा प्रवेश गरेपछि अरु कुनै बैंकसँग मर्जरमा जाने विषय सहज हँुदैन । अहिलेका गभर्नर महाप्रसाद अधिकारीमाथि अर्थमन्त्रीको निकै ठूलो गुण रहेकोले उनइ अर्थमन्त्रीको इच्छाविपरीत जाने संभावना पनि छैन । यसकारण समेत हिमालयन बैंक अरुसँग मर्जरमा जाने अवस्था निकै न्यून रहेको ती संचालकले बताए ।
‘फेरि यो विषयमा यसअघिका गभर्नर साबले नै हामीलाई छुट दिनुभएको छ । सीडीसी आउने भएपछि हिमालयन बैंक मर्जरमा गइरहनु पर्दैन भनिएको छ ।’ ती संचालकले भने–‘अहिले आएर हालका गभर्नर साबले पनि पुरानो कुरा र अवस्था थाहा पाउनु भएको छ । किनभने त्यो अवस्था अझै पनि छ ।’
हिमालयन बैंकका संचालकहरु नेपालको बैंकिङ उद्योगको क्षमता बढाउन पनि सीडीसीलाई नेपाल भित्रनबाट रोक्न नहुने तर्क गरिरहेका छन् । यसमा नेपाल राष्ट्रबैंकको इच्छाले धेरै अर्थ राख्दछ । ‘राष्ट्रबैंक नै अब सीडीसीलाई भित्र्याउन चाहदैन भने त नेपाल इन्भेष्टमेन्टसँग मात्र होइन, जोसँग पनि हिमालयन बैंक मर्जरमा जानसक्ने भयो ।’ ती संचालकले भने–‘तर, हिमालयन बैंक, बलियो बैंक भएकै कारण सीडीसीले छानेको हो भन्ने कुरा पनि भुल्नु भएन । विदेशी रणनीतिक साझेदारलाई घर पठाएर सबै बैंक स्वदेशी लगानीका मात्र बनाउने रणनीति ल्याएमा मात्र यो संभव होला । तर, खालि ठूलो बैंक मात्र चाहिन्छ भनेर पनि त नहोला नि ।’
ती सचालकले मर्जरको नीति के उद्देश्यले आयो, मर्जर के उद्देश्य प्राप्तिका लागि गरिँदैछ भन्ने विषयमा राष्ट्रबैंक पनि गम्भीर बन्नुपर्ने बताए । ‘खालि मर्जर मर्जर भनेर कराएर मात्र हुँदैन । मर्जरपछि सिनर्जी आउनुपर्यो, बैंक बलियो हुनुपर्यो, कुनै समस्या हुन भएन । मर्जमा जान लागेका संस्थाका संचालक, कर्मचारीबीच कुरा मिल्नुपर्यो ।’ उनले भने–‘त्यसकारण हाम्रो बुझाईमा इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जानुहुन्न, हाम्रो इच्छा यस्तो छैन । यो हल्ला वान साइडेड इच्छाबाट प्रभावित छ ।’
तर, उता इन्भेष्टमेन्ट बैंकका अधिकारीहरु भने हिमालयन बैंकसँग मर्जरको विषयमा केही चरणको छलफल नै भइसकेको दाबी गर्छन् । ‘हाम्रा छलफल सकारात्मक बन्दै गएका छन् ।’ इन्भेष्टमेन्ट बैंकका एक संचालकले भने–‘राष्ट्रबैंकले प्रभावकारी भूमिका खेलिदिने हो भने हिमालयन र इन्भेष्टमेन्टबीच मर्जर संभव छ, यसले केन्द्रीय बैंकको बिग मर्जरको पोलिसीलाई सफल बनाउन समेत निकै ठूलो भूमिका खेल्छ ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago