काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि १९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ।

बैंकको शुक्रबार सार्वजनिक गत आर्थिकको चौथो त्रैमास वित्तीय विवरणबाट यस्तो देखिएको हो। बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १ अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेको छ। यो बैंकको चुक्तापुँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको छ। 

समीक्षा अवधिसम्म बैंकको खुद नाफा भने १८.५१ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब ४३ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिसम्म १ अर्ब ९८ करोड रुपैयाँमात्र नाफा आर्जन गर्न सक्यो।

यो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि १८.१९ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ३ अर्ब ४७ करोड सञ्चालन मुनाफा आर्जन गरेको बैंकको समीक्षा अवधिमा घटेर २ अर्ब ८४ करोडमा सीमित बनेको छ।

बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ५१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म ३ अर्ब५२ करोड रुपैयाँ थियो।

बैंकले समीक्षा अवधिसम्म ९८ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले ७५ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार ९.०३ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष ५ अर्ब १० करोड रुपैयाँ रहेको रिजर्भको आकार बढेर ५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। 

चौथो त्रैमासमा बैंकको आधार दर ०.६३ प्रतिशतले घटेर ७ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष बैंकको आधार दर ७.६३ प्रतिशत थियो। 

बैंकको निष्क्रिय कर्जा (एनपीएल) को अनुपात ०.२९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ०.१५ प्रतिशत रहेको एनपीएल अनुपात बढेर समीक्षा अवधिमा बढेर ०.४४ पुगेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २४.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) २६.०५ गुणा रहेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १८८.५० रुपैयाँ रहेको छ।