काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुको नियामक नेपाल राष्ट्रबैंकले बेला–बेला गलत निर्णय गर्ने गर्छ । केही महिनाअघि सिद्धार्थ डेभलपमेन्ट बैंकलाई गैरकानूनी ढंगले नाम फेर्न दवाब दिएको राष्ट्रबैंकले प्रगति पथमा लम्कदै गरेको प्रभू बैंक लिमीटेडको पूँजी वृद्धि योजना र आगामी वार्षिक साधारणसभा नै प्रभावित हुने गरी गलत निर्णय गरेको छ । 

राष्ट्रबंैंकले समस्याग्रस्त ग्राण्ड बैंक गाभेको प्रभू बैंकलाई अप्ठ्यारो हुने गरी साबिकको प्रभू बैंकको मात्रै सेयर कारोबार खुला गरिदिने र प्रभूमा गाभिइसकेको ग्राण्ड बैंकको सेयर कारोबार चाहि अझै निलम्बनमा राख्ने आलोचनायुक्त निर्णय गरेको हो । 

प्रभूमा मर्ज भइसकेपछि अस्तित्वमै नरहेको ग्राण्डको विगतको घाटामा अड्को थापेर राष्ट्रबैंकको संचालक समिति बैठकले सो संस्थाको सेयर कारोबार नै रोक्नु प्राविधिक रुपमा त्रुटीपूर्ण रहेको जानकार बताउँछन् । ‘अस्तित्वमै नरहेको संस्थाको नाममा सेयर कारोबार निलम्बनमा राख्नु गलत हो ।’ एक जानकारले भने–‘मर्जपछि प्रभू बैंककै सेयरधनी भइसकेका ग्राण्डका तत्कालीन सेयरधनीलाई समेत राष्टबैंकको त्रुटिपूर्ण निर्णयका कारण तनाव भएको छ ।’ 

प्रभू बैंकले समस्याग्रस्त ग्राण्ड बैंकलाई मर्ज गर्ने आँट देखाई सो बंैकका लगानीकर्तालाई सुरक्षित गराउने काम गरेको छ । ‘यो कुरा मनन गरी ग्राण्डको पनि कारोबार खोलिदिएको भए राम्रो हुन्थ्यो ।’ प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) अशोक शेरचनले बिजशालासँग भने–‘कम्तीमा लगानीकर्ता मारमा पर्ने थिएनन् ।’ 

कुनै पनि बैंक तथा बित्तीय संस्था डूब्नुमा लगानीकर्ता भन्दा बढी व्यवस्थापन तथा संचालकको भूमिका हुन्छ । व्यवस्थापन र संचालक समितिमा रहेका केही व्यक्तिको कमजोरीको भागिदार सोझा लगानीकर्तालाई बनाउने गरी राष्ट्रबैंकबाट भएको निर्णय निकट भविष्यमै सच्चिनेमा आफूहरु आशावादी रहेको सीइओ शेरचनले बताए । 

‘राष्ट्रबैंकले गलत निर्णय पो गर्यो कि भन्ने हाम्रो बुझाई हो ।’  उनले थपे–‘गल्ती गरिसकेपछि सच्याउन समय लाग्ला । दशैंपछिदेखि ग्राण्डको पनि सेयर कारोबार खुल्छ होला ।’ 

सीइओ शेरचनका अनुसार यो निर्णयले ग्राण्डतर्फका सेयरधनीहरुको कारोबार हुँदैन । सीमित सेयर कारोबार नभएपछि नयाँ सेयर जारी गर्न तथा साधारणसभाका लागि बुकक्लोज गर्न सकिँदैन । बुकक्लोज नभएपछि नयाँ सेयर जारी गर्न तथा साधारणसभामा भाग लिने सेयरधनीहरुको टुङ्गो लाग्दैन । ‘०७४ असारमा चुक्तापूँजी पुर्याउने टाइमलाइन तोकिएको छ ।’ उनले भने–‘यसका लागि वार्षिक साधारणसभा समयमै गर्नु अनिवार्य हुन्छ, राष्टबैंकको निर्णयले हाम्रो पूँजी वृद्धि योजनालाई असर पार्ने देखिन्छ ।’ 

बैंकर तथा विश्लेषक अनलराज भट्टराईको विचारमा केन्द्रीय बैंकको तर्फबाट सर्वसाधारण सेयरधनीलाई सेयर लगानीबाटै निरुत्साहित गर्ने गरी तत्कालीन ग्राण्ड बैंकको सेयर कारोबार  रोक्का गरेर त्रुटीपूर्ण निर्णय भएको छ । ‘बरु तत्कालीन ग्राण्ड बैंकको प्रोमोटर सेयरधनीको मात्र सेयरको कारोबार २ वर्ष नै रोकिदिएको भए पनि हुन्थ्यो ।’ उनले बिजशालासँग भने–‘व्यवस्थापन र संचालक समितिमा रहेकाहरुले गरेको गल्तीको सजाय सर्वसाधारणलाई दिइनु न्यायसंगत भएन ।’ कतिपय लगानीकर्ता सेयर भनेकै के हो भन्ने कुरा नबुझेका पनि रहेकाले त्यस्तालाई राष्ट्रबैंकको यो निर्णयले निरुत्साहित बनाउनसक्ने उनको तर्क छ । ‘त्यसैले सर्वसाधारण सेयरधनीको हित हेर्ने हो भने राष्ट्रबैंकले यो निर्णयमा पुनर्विचार गर्नुपर्छ ।’ उनले सुझाव दिंदै भने–‘पब्लिकको हातमा भएको सेयरको कारोबार गर्न दिइनुपर्छ ।’

त्यसो त राष्ट्रबैंकको यो विवादास्पद निर्णय बाहिर आएलगत्तै नेपाल स्टक एक्सचेञ्जले समेत पत्र नै पठाएर आपत्ति जनाएको  थियो । उसले मर्जर कार्य सम्पन्न भएपछि मर्ज भएका सबै कम्पनीको सेयरको कारोबार संचालन हुनुपर्ने र सोही अनुसार सेयर संख्या, मूल्य एवम् बजार सूचकांक समायोजन हुनुपर्ने अन्तराष्ट्रिय प्रचलन रहेकोले उत्पन्न व्यवहारिक कठिनाईलाई सम्बोधन हुने व्यवस्थाको माग गर्दै पत्र पठाइएको बताएको थियो । उसले आफ्नो विज्ञप्तिमा राष्ट्रबैंकको निर्णयलाई त्रुटीपूर्ण भएकोले सच्याउन स्पष्ट रुपमा आग्रह गरेको छ ।