काठमाण्डौ । कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रण तथा रोकथामका लागि काठमाण्डौ उपत्यकामा आज बुधबार राति १२ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ।

निषेधाज्ञाबीच उपत्यकाका तीनै जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा बिहीबारदेखि भने बैंकका शाखाहरु भने सीमित संख्यामा खुल्ने भएका छन्। तीनै जिल्लाका सीडीओहरुको बैठकले बैंकहरु खुला राख्न दिने निर्णय गरेको थियो। 

बैठकले निषेधाज्ञा अवधिभर बैंकहरुलाई अत्यावश्यक क्षेत्रमा राखेर सीमित कर्मचारी राखेर सेवा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ। निषेधाज्ञा भने भदौ १० गते राति १२ बजेसम्म लागू हुनेछ। 

यो अवधिमा उपत्यकाका तीन जिल्लामा सीमित संख्यामा बैंकहरु खुला गरिने नेपाल बैंकर संघले जनाएको छ। संघका अनुसार निषेधाज्ञा अवधिभर हरेक दिन उपत्यकाका तीन जिल्लामा एउटा बैंकले बढीमा ८ वटामात्रै शाखा कार्यालय खोल्न पाउनेछन्। जसमा काठमाण्डौमा ५, ललितपुर २ र भक्तपुरमा एउटामात्र शाखा खोल्न पाइनेछ संघले स्पष्ट पारेको छ। 

यो अवधिभर कार्यक्षेत्रमा खट्ने बैंकका कर्मचारीहरुले पास बनाउनु नपर्ने संघले जनाएको छ। काममा खटिने कर्मचारीहरुले कार्यालयकै परिचयपत्रका आधारमा आवतजावत गर्न दिने व्यवस्था मिलाइएको संघको भनाइ छ।