काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवधिक कर्जा(पर्सनल टर्म लोन) प्रवाह गर्दा सुरुमै कर्जा अवधिभर फिक्स्ड ब्याजदर तोक्न पाउने भएका छन् । 

नेपाल राष्ट्रबैंकले संभवत आज साँझ(यदि ढिलो भयो भने पनि भोलिसम्म)भित्र जारी गर्ने एकीकृत निर्देशनमा यस्तो व्यवस्था गर्न लागेको हो । 

नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार २७ वटै वाणिज्य बैंकका सीइओहरुसँग भर्चुअल छलफल गरेका थिए । सो क्रममा गभर्नर अधिकारीले एकीकृत निर्देशन आज साँझसम्म(ढिलोमा पनि भोलिसम्म) जारी हुन लागेको र त्यसमा बैंकहरुको कुनै सुझाव भए समेटिने बताएका थिए ।

सो क्रममा गभर्नर अधिकारीले व्यक्तिगत आवधिक कर्जा(पर्सनल टर्म लोन)को ब्याजदर सुरुमै निश्चित तोक्न पाइने व्यवस्था हुन लागेको संकेत गरेका छलफलमा सहभागी एक बैंकरले जानकारी दिए । 

'पर्सनल लोन दिँदा पहिला लगाइएको ब्याजदर सो ऋणको अवधिभर परिवर्तन गर्न पाउदिन भन्न समेत पाइने व्यवस्था हुन लागेको कुरा आयो ।'- ती बैंकरले भने । 

गभर्नर अधिकारीले बैंकरहरुसँग कोभिड १९ को जोखिम र यसबाट बैंकहरुलाई परेको प्रभावको विषयमा समेत कुराकानी गरेका थिए । तर, समस्यामा परेका बैंकहरुलाई तत्काल राहात हुने कुनै पनि संकेत नगरेका ती बैंकरले जानकारी दिए ।'बैंकहरुलाई राहात हुने खालको कुनै पनि व्यवस्था एकीकृत निर्देशनबाट आउने देखिएन ।'-उनले भने।