काठमाण्डौ । भारतको केन्द्रीय सरकारले ठूला सार्वजनिक कम्पनीहरुलाई सेयरधनीहरुलाई आकर्षक लाभांश वितरण सुझाएको छ।

कोरोना संकटका बेला भारत सरकारले सार्वजनिक क्षेत्रका राम्रा कम्पनीहरुले सेयरधनीहरुलाई आकर्षक लाभांश दिनुपर्ने धारणा राखेको छ। आकर्षक लाभांश दिँदा कोरोनाकालमा लगानीकर्ताहरुले व्यहोरेको घाटा कम हुने भारत सरकारको भनाइ छ । यसले आमलगानीकर्ताहरुलाई धेरै फाइदा हुनुका साथै थप लगानी गर्न प्रेरणा पनि मिल्ने सरकारको ठम्याइ छ। 

अधिकारीहरुका अनुसार भारतीय सरकारी कम्पनीहरुको सेयरमूल्य बुक भ्याल्यूभन्दा अधिक छ। यस्ता कम्पनीहरुसँग क्यासको मात्रा पनि पर्याप्त छन् । त्यसैले यस्ता कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई वित्त वर्ष २०२१ मा उच्च लाभांश दिन सरकारले निर्देशन दिने बताइएको छ। 

हालै भएको समीक्षा बैठकमा भारतकी वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक क्षेत्रका ठूला कम्पनीहरुलाई खर्च बढाउन निर्देशन दिएकी थिइन्। जसमा ठूला सार्वजनिक कम्पनीहरुको सन् २०२०–२१ को योजनाबद्ध पुँजीगत खर्चको ७५ प्रतिशत हिस्सा डिसेम्बर २०२० सम्म र आउँदो मार्चसम्म १०० प्रतिशत खर्च गर्न भनिएको थियो। यसले देशको अर्थव्यवस्थामा कोरानाले पारेको नराम्रो प्रभाव कम गर्न मद्दत मिल्ने सीतारमणको भनाइ छ। 

वित्त वर्ष २०२१ मा सार्वजनिक कम्पनीहरुको लाभांश बजेट लगभग भारु ६५ हजार ७४७ करोड रुपैयाँ हुनेछ । यदि लाभांशमा बढोत्तरी भए यो भने सरकारको ननट्याक्सबाट आउने रेभेन्यूमा बढ्न सक्छ। जुन वर्तमान जीडीपीको करिब ८ प्रतिशत हुने अनुमान गरिएको छ। – एजेन्सी