काठमाण्डौ । माइक्रोसफ्ट कम्पनीले आफ्नो वेब ब्राउजर ‘इन्टरनेट एक्सप्लोरर’ बन्द गर्ने निर्णय गरेको छ।

आउँदो वर्ष जुन १५ बाट यो इन्टरनेट एक्सप्लोरर बन्द गरिने माइक्रोसफ्टले जनाएको छ। यो इन्टरनेट एक्सप्लोररले करिब २५ वर्षदेखि इन्टरनेट प्रयोगकर्तालाई आफ्नो सेवा दिँदै आएको छ। 

माइक्रोसफ्टले बुधबार एउटा ब्लग पोस्टमा यो वेब ब्राउजरको सुरुआत सन् १९९५ मा बिन्डोज ९५ का साथ गरेको जानकारी गराएको छ।

माइक्रोसफ्ट ऐजका कार्यक्रम प्रबन्धक सिन लिन्डर्सेले इन्टरनेट एक्सप्लोरर ११ डेस्कटप एप्लिकेसनबाट हटाइने बताए। विन्डोज १० का केही भर्जनका लागि सन् २०२२ जुन १५ सम्ममा यो ब्राउजरको सपोर्ट बन्द गरिने उनले जानकारी दिए। 

लिन्डर्सेले बिन्डोज १० मा इन्टरनेट एक्सप्लोररको प्रतिस्थापन माइक्रोसफ्ट ऐजले गर्ने बताए। माइक्रोसफ्ट एज इन्टरनेट एक्सप्लोररको तुलनामा निकै तीव्र, अधिक सुरक्षित र अधिक आधुनिक ब्राउजिङ अनुभव हुने लिन्डर्सेले दाबी गरे। 

माइक्रोसफ्ट ऐजमा इन्टरनेट एक्सप्लोरर मोड इन बिल्ट रहेको बताइएको छ। त्यसैले इन्टरनेट एक्सप्लोररमा आधारित पुराना वेबसाइट्स र एप्लिकेसनहरु माइक्रोसफ्ट ऐजबाट सीधै एक्सेस गर्न सकिने माइक्रोसफ्टले जनाएको छ। माइक्रोसफ्ट एजेनमा इन्टरनेट एक्सप्लोरर मोड कमसेकम २०२९ सम्म सपोर्ट गर्ने लिन्डर्सेले जानकारी दिए। – एजेन्सी